रौतहट, ९ फागुन
जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू लागू गरिएको हो। कर्फ्यू अवधिभर कुनै पनि व्यक्ति आवत–जावत गर्न, भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने व्यवस्था गरिएको छ।
कर्फ्यू लागू गरिएका क्षेत्रहरू
पूर्व : मुडवलवा गेट
पश्चिम : लालबकैया बाँध
उत्तर : बम नहर
दक्षिण : गौर भन्सार कार्यालय गेट
कर्फ्यू आदेश उल्लङ्घन गर्नेलाई कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख छ।
कर्फ्यू जारी हुनुको कारण गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच पुनः झडप भई अवस्था नियन्त्रण बाहिर जानु हो। शनिबार बिहानदेखि चर्किएको झडपका क्रममा गौर क्षेत्रमा ३ वटा गाडी र २ वटा मोटरसाइकलमा आगजनी गरिएको छ भने एक पेट्रोल पम्पमा तोडफोडसमेत भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता विष्णुप्रदीप वस्यालले आगजनी र तोडफोड भएको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। झडप बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका रामहरी अधिकारी पुगेर कमाण्ड सम्हालेका छन्।
यसअघि शुक्रबार स्थिति नियन्त्रणका लागि सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
केही दिनअघि सवगढामा विवाहको जन्ती बाजा बजाउँदै जाँदा सुरु भएको विवाद चर्किँदै यहाँसम्म पुगेको हो। स्थानीय सत्य नारायण साहकी छोरीको विवाहको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदा मस्जिद अगाडि बाजा बजाइएको विषयमा विवाद उत्पन्न भएको थियो। ढुंगा हानाहानमा दर्जनौँ व्यक्ति घाइते भएका थिए।
शुक्रबार जिल्ला प्रशासन कार्यालयको पहलमा दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान पुनः झडप सुरु भई अवस्था तनावग्रस्त बनेको हो। यसैबीच ८ गतेदेखि रमजान सुरु भएकाले धार्मिक संवेदनशीलता थप बढेको स्थानीयवासीको भनाइ छ।
हाल कर्फ्यू आदेशसँगै गौरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रशासनले सबै पक्षलाई संयमता अपनाउन र शान्ति कायम गर्न आग्रह गरेको छ।