निर्वाचन नजिकिँदै गर्दा रौतहटमा चुनावी सरगर्मी: मतदाता फकाउन व्यस्त उम्मेदवार

फागुन ११ रौतहट

नेपालमा चुनावी माहोल तातिएसँगै रौतहट जिल्लामा पनि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। आसन्न निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू यतिबेला आफ्नो पक्षमा जनमत सिर्जना गर्न घरदैलो अभियानमा व्यस्त देखिएका छन्। यसै क्रममा सिके राउत नेतृत्वको जनमत पार्टी र अन्य क्षेत्रीय दलका उम्मेदवारहरू मतदाता रिझाउन निकै सक्रिय भएका छन्।

रौतहटको राजापुर नगरपालिका निवासी शिक्षित एवं बौद्धिक व्यक्तित्व जसिमा खातुन यतिबेला जनमत पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारका रूपमा चुनावी मैदानमा छिन्। शैक्षिक पृष्ठभूमिकी खातुनले वि.स. २०६३ सालमा यमुनामाई उच्च माध्यमिक विद्यालय झुनखुनवाबाट एस.एल.सी. उत्तीर्ण गरेकी थिइन् भने गौरस्थित गौरीशंकर यादव क्याम्पसबाट बी.एड. सम्मको शिक्षा हासिल गरेकी छिन्।

एक कुशल गृहिणीका रूपमा समेत परिचित ३३ वर्षीया खातुन जनमत पार्टीका मधेश प्रदेश सदस्य मोहम्मद अलि (बाबुसाहेब) की धर्मपत्नी हुन्। स्मरणीय रहोस्, बाबुसाहेबले वि.स. २०७९ को निर्वाचनमा रौतहट क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए। खातुन अहिले रौतहटका चारवटै निर्वाचन क्षेत्रमा पुगेर जनताको पीर-मर्का सुन्ने र आफ्नो पार्टीको एजेन्डा बुझाउने कार्यमा अहोरात्र खटिएकी छिन्। यसैगरी, नेपाल संघीय समाजवादी पार्टी का केन्द्रीय सदस्य शेख नसिर पनि समानुपातिक उम्मेदवारका रूपमा सक्रिय देखिएका छन्। गत निर्वाचनमा जिल्लाभरिबाट करिब १५ हजार मत प्राप्त गरेको यो पार्टी यस पटक आफ्नो मत परिणाम सुधार्ने दाउमा छ।

खातुन र नसिर जस्ता उम्मेदवारहरूले विशेषगरी मुस्लिम समुदाय र पिछडिएका वर्गका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइरहेका छन्। रौतहटको स्थानीय राजनीतिमा पकड जमाउन उनीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरूलाई चुनावी एजेन्डा बनाएका छन्।

शिक्षित उम्मेदवार भएकाले खातुनले महिला शिक्षा र सामाजिक चेतनालाई प्राथमिकता दिएकी छिन्। जनमत पार्टीले मधेशमा सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको नारालाई जोड दिएको छ। बाढी नियन्त्रण, कृषिमा आधुनिकीकरण र सिँचाइ जस्ता स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता उम्मेदवारहरूले व्यक्त गरेका छन्।

रौतहटमा जनमत पार्टी र संघीय समाजवादी जस्ता शक्तिहरूको बढ्दो सक्रियताले पुराना र स्थापित दलहरूलाई कडा चुनौती दिने देखिएको छ। मतदाताहरूले कस्तो नेतृत्व चयन गर्नेछन्, त्यो भने निर्वाचनको परिणामले नै देखाउनेछ।

Comments (0)
Add Comment