बारा , ११ फागुन
बारा निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी नेपाल का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामबाबु कुमार यादव यतिबेला मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनी टोल–टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घरदैलोका क्रममा यादवले बारा–३ का मतदातासँग शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत समस्याबारे छलफल गर्दै आफ्ना प्राथमिक एजेन्डा प्रस्तुत गरिरहेका छन्। उनले स्थानीय आवश्यकता र जनजीवनका समस्यालाई संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै “जनताको आवाज नै मेरो राजनीतिक मार्गदर्शन हो” भन्ने धारणा राखेका छन्।
यादवले विगतमा मधेस र बारा क्षेत्रले भोग्दै आएको विकासको असन्तुलन र सेवाप्रवाहको कमजोरीतर्फ ध्यानाकर्षण गराउँदै अब परिणाम देखिने राजनीति आवश्यक रहेको बताए। “राजनीति भाषणमा होइन, जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन केन्द्रित हुनुपर्छ,” उनले घरदैलोका क्रममा भने।
उनका अनुसार कृषि उत्पादनको उचित मूल्य, युवाहरूका लागि रोजगारी सिर्जना, स्वास्थ्य सेवामा पहुँच विस्तार र शिक्षा क्षेत्रको सुधार बारा–३ का प्रमुख आवश्यकता हुन्। यी विषयमा संघीय सरकार र सम्बन्धित निकायसँग प्रभावकारी रूपमा आवाज उठाउने उनले दाबी गरे।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूले सडक, सिंचाइ, रोजगार र प्रशासनिक झन्झटबारे आफ्ना गुनासा राखेका थिए। यादवले ती समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिँदै मतदाताको सुझावलाई आफ्नो चुनावी घोषणापत्रमा समेट्ने बताएका छन्।
चुनावी सरगर्मी बढ्दै जाँदा बारा–३ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको छ। यसैबीच, जसपाका उम्मेदवार यादवको घरदैलो र प्रत्यक्ष संवाद अभियानले चुनावी माहोल थप सक्रिय बन्दै गएको स्थानीयको प्रतिक्रिया छ।