कलैया , ११ फागुन
बाराको सदरमुकाम कलैया स्थित भरत चौक मा आइतबार १०० भन्दा बढी व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन्। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा बारा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार अरविन्द साहले नवप्रवेशीहरूलाई टीका र गम्छा लगाई पार्टीमा स्वागत गरेका छन्।
कार्यक्रममा बोल्दै उम्मेदवार साहले पुराना राजनीतिक प्रवृत्तिबाट आजित जनताले वैकल्पिक शक्तिको खोजी गरिरहेको उल्लेख गर्दै रास्वपा सुशासन, पारदर्शिता र जवाफदेहिताको राजनीतिका लागि प्रतिबद्ध पार्टी भएको दाबी गरे। “जनताले अब नाराभन्दा काम खोजिरहेका छन्, त्यसैको परिणाम आजको यो सहभागिता हो,” उनले भने।
यसैक्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै बारा–३ बाट रास्वपाका उम्मेदवार साहले कलैया उपमहानगरपालिका–२६, सिस्वामहेशपुर टोल मा घरदैलो कार्यक्रम सञ्चालन गरे। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक र प्रशासनिक सेवासम्बन्धी समस्याबारे गहन छलफल गरे।
साहले निर्वाचित सांसदको भूमिका संसदमा कानुन बनाउने काममा मात्र सीमित नहुने स्पष्ट पार्दै जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने मुद्दालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।
“सांसद जनता र राज्यबीचको विश्वासको सेतु हो,” उनले भने, “त्यो सेतु कति बलियो छ भन्ने कुराले नै प्रतिनिधिको मूल्यांकन हुन्छ।”
उनले राजनीति पद प्राप्तिको साधन नभई जिम्मेवारी र जवाफदेहिताको अभ्यास भएको उल्लेख गर्दै स्थानीय आवश्यकतालाई राष्ट्रिय हितसँग सन्तुलनमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। युवाहरूलाई देशमै अवसर सिर्जना गर्ने, सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउने तथा विकास योजनामा दलगत स्वार्थभन्दा जनहितलाई अघि राख्ने उनको भनाइ थियो।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. सुशील साह सहित पार्टीका युवा कार्यकर्ता, समर्थक तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रास्वपाले छोटो समयमा देखाएको सक्रियता र फरक राजनीतिक अभ्यासप्रति भरोसा व्यक्त गरेका थिए।
यसै दिन साहको टोलीले कलैया उपमहानगरपालिका–२७, बिजुलपुर मा समेत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। बारा–३ मा पार्टी प्रवेश र घरदैलो अभियान तीव्र बन्दै जाँदा रास्वपाको जनाधार विस्तार भइरहेको संकेत देखिएको छ।