बारा , ११ फागुन
बढ्दो भ्रष्टाचार, कुशासन र पुराना राजनीतिक प्रवृत्तिप्रति जनआक्रोश बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी ले बारा निर्वाचन क्षेत्र नं. १ बाट गणेश धिताल लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।
उम्मेदवार धितालले देशमा अब भावनात्मक नाराभन्दा पनि काम, नीति र इमानदारीको राजनीति आवश्यक रहेको बताएका छन्। उनले युवाहरूले थालेको शान्तिपूर्ण जनआन्दोलन र “निलो क्रान्ति” नै वैकल्पिक राजनीतिक शक्तिको आधार भएको उल्लेख गर्दै मतमार्फत हुने परिवर्तन नै दिगो हुने धारणा राखेका छन्।
“जनताले अब भ्रष्टाचार, बेथिति र दण्डहीनता चाहँदैनन्,” धितालले भने, “सुशासन, पारदर्शिता र जवाफदेही शासनका लागि रास्वपा जनताको भरोसाको पार्टी बनेको छ।”
उनका अनुसार छोटो समयमा पार्टी स्थापना भए पनि संसद र सरकारमा पुगेपछि रास्वपाले फरक काम गर्ने प्रयास गरेको छ। सीमित समयमै पनि जनमुखी नीति, सेवामा पारदर्शिता र सत्ता दुरुपयोगविरुद्ध दृढ अडान देखाइएको उनको दाबी छ।
धितालले पुराना दलहरूले नयाँ राजनीतिक शक्तिलाई आन्दोलनकारी वा अराजक भन्दै भ्रम फैलाउने गरेको आरोप लगाउँदै भने, “हामी हिंसा र तोडफोडको होइन, मतको शक्तिबाट परिवर्तन चाहने पक्षधर हौं।”
बारा–१ का मतदाताले विकाससँगै सुशासन खोजिरहेको उल्लेख गर्दै उनले शिक्षा, रोजगारी, स्थानीय पूर्वाधार र प्रशासनिक सुधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाएको बताएका छन्। “जनताले अब ‘को गयो, को आयो’ होइन, ‘कसले काम गर्छ’ भन्ने प्रश्न गरिरहेका छन्,” उनले थपे।
आगामी निर्वाचनमा सचेत मतदानीमार्फत नयाँ सोच र नयाँ नेतृत्व स्थापित हुने विश्वास व्यक्त गर्दै धितालले बारा–१ का मतदातासँग रास्वपालाई अवसर दिन अपिल गरेका छन्।