रौतहट , ११ फागुन
जिल्लाको सदरमुकाम गौर नगरपालिका वडा नं. ६ सबगढामा केही दिनदेखि उत्पन्न धार्मिक तथा सामाजिक तनावलाई साम्य पार्न र जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे महत्वपूर्ण निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा भएको उक्त बैठकले जिल्लाभित्र बिग्रँदै गएको वातावरणलाई सुधार गर्न सोमबार फागुन ११ गते सद्भाव र्याली निकाल्ने लगायतका निर्णयहरू गरेको हो। गएको फागुन ७ गते राती सबगढा गाउँमा सुरु भएको सामान्य विवाद फागुन ८ गतेदेखि उग्र बनेको थियो। स्थानीय प्रतिनिधि र अगुवाहरूको छलफलबाट ६ बुँदे सहमति भए तापनि फागुन ९ गते बिहानैदेखि परिस्थिति पुनः जटिल बनेपछि जिल्ला सुरक्षा समितिले सोही दिन दिउँसो १:०० बजेदेखि कफ्र्य आदेश जारी गरेको थियो। हाल कफ्र्यु यथावत रहेको अवस्थामा जिल्लाको समग्र सुरक्षा र सामाजिक सौहार्दता जोगाउन यो सर्वपक्षीय पहल चालिएको हो। बैठकका प्रमुख निर्णयहरू: विवादका क्रममा भएका उच्छृङ्खल घटनाहरूप्रति खेद प्रकट गर्दै जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्न सरोकारवाला सबै पक्षले साझा सार्वजनिक अपिल जारी गर्ने निर्णय भएको छ।
सबगढाको विवाद समाधान गर्न दुवै पक्षका स्थानीय भद्रभलादमी एवं अगुवाहरूलाई सहभागी गराई जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक छलफललाई तीव्रता दिने भएको छ। अन्तर्राष्ट्रिय स्तरका पुराना वा बाह्य घटनालाई रौतहटको घटना भनी सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूमाथि कडा निगरानी राखिनेछ। यस्ता अनर्गल प्रचारले शान्ति खलल पुऱ्याएमा सुरक्षा निकायले गर्ने कारबाहीमा सबै पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। धार्मिक र सामाजिक सद्भाव विथोल्न खोज्नेहरूको पहिचान भइरहेको सुरक्षा निकायले जनाएको छ। घटनामा संलग्न भई पक्राउ परेका र अनुसन्धानबाट दोषी देखिने अन्य व्यक्तिहरूलाई समेत कानुनको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरिएको हो । जिल्लाभर सकारात्मक सन्देश प्रवाह गर्न भोलि सोमबार २०८२ फागुन ११ गते बिहान ७:३० बजे नागरिक समाजको अगुवाइमा सबगढामा एक वृहत् सद्भाव र्याली आयोजना गरिने भएको छ।
प्रशासनले हालको संवेदनशीलतालाई बुझिदिन र कुनै पनि प्रकारका उत्तेजक गतिविधिमा संलग्न नहुन जिल्लाबासीलाई आग्रह गरेको छ। भोलिको र्यालीले बिग्रिएको सामाजिक सम्बन्धलाई पुनः जोड्ने र रौतहटमा शान्तिको सन्देश दिने विश्वास लिइएको छ।