पर्सा–४ मा ‘जय घण्टी’को गुञ्जन

राजन कुमार बानिया

पर्सा, १२ फागुन

पर्सा क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर शाक्यको चुनावी घरदैलो कार्यक्रम कालिकामाई गाउँपालिका वडा नम्बर–२ भेडिहारीमा उत्साहका साथ सम्पन्न भएको छ।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार शाक्यले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहभागी रास्वपाका समर्थकहरूले घण्टी बजाउँदै ‘जय घण्टी’को नारा लगाएर वातावरणलाई उत्साहपूर्ण बनाएका थिए।

टोल–टोलमा पुगेर मतदातासँग संवाद गर्दै शाक्यले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभयो। उहाँले परम्परागत राजनीतिक अभ्यासबाट दिक्क भएका जनताले अब वैकल्पिक राजनीतिक शक्तिलाई अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै, “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने सन्देश दोहोर्‍याउनुभयो।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूले रोजगारी, सडक तथा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै उम्मेदवार शाक्यले क्षेत्रीय विकासलाई योजनाबद्ध र दीर्घकालीन रूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।

पर्सा क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी बढ्दै गएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो कार्यक्रम तथा सभा–सम्मेलनमार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका छन्।

Comments (0)
Add Comment