बारा , १२ फागुन
राष्ट्रिय जनता पार्टीबाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट पराजित भएका रामकिशोर यादवको राजनीतिक यात्राले स्थानीयस्तरमा गम्भीर प्रश्न जन्माएको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले जनता समाजवादी पार्टीका आधिकारिक उम्मेदवार रामसहाय यादवलाई पराजित गराउने उद्देश्यसहित बारा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा रामसहाय यादव विजयी भई पछि उपराष्ट्रपति बनेसँगै बारा–२ मा २०८० वैशाखमा उपनिर्वाचन भयो।
तर यही उपनिर्वाचनमा २०७९ मा बागी बनेर जसपाविरुद्ध उभिएका रामकिशोर यादवले अप्रत्याशित रूपमा जसपाकै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई विजयी गराउन सक्रिय भूमिका खेलेको स्थानीय राजनीतिक वृत्तको दाबी छ।
दुई पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित भइसकेका र एकपटक आफ्नै पार्टीविरुद्ध बगावत गरेका यादवले अचानक पार्टी अध्यक्षको जित सुनिश्चित गर्न सहयोग गर्नु र अब फेरि आगामी निर्वाचनमा जसपाकै तर्फबाट बारा–२ मा उम्मेदवारी दिनु राजनीतिक स्वार्थ, अवसरवाद र सत्ताकेन्द्रित सोचको स्पष्ट उदाहरण भएको स्थानीयहरूको भनाइ छ।
स्थानीय बासिन्दाहरूका अनुसार, “हिजो पार्टीविरुद्ध लड्ने, आज पार्टी अध्यक्षको जितका लागि खटिने र भोलि फेरि पार्टीको टिकट माग्ने व्यवहारले रामकिशोर यादवको राजनीतिक छवि पूर्ण रूपमा उदाङ्गिएको छ।” उनीहरू भन्छन्, यस्तो दोहोरो चरित्रले न त पार्टीलाई फाइदा पुर्याउँछ, न त मतदाताको विश्वास कायम रहन्छ।
राजनीतिमा विचार, निष्ठा र स्थायित्वको चर्चा गरिरहँदा बारा–२ मा देखिएको यो घटनाक्रमले स्थानीय राजनीति कति स्वार्थ–केन्द्रित र अस्थिर बन्दै गएको छ भन्ने स्पष्ट संकेत दिएको विश्लेषकहरूको ठम्याइ छ।