कलैया , १२ फागुन
नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी आफ्नो प्रचार संयन्त्रलाई तीव्र बनाएको छ। पार्टीको प्रचार-प्रसार अभियानलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यले कांग्रेसले केन्द्रीय प्रचार-प्रसार समितिमा सदस्यहरू मनोनयन गर्ने क्रमलाई तीव्रता दिएको हो।
यसै सिलसिलामा रौतहट निवासी नेता ग्रिषनन्दन कुमार सिंहलाई केन्द्रीय प्रचार-प्रसार समितिको सदस्यमा मनोनयन गरिएको हो । पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक देवराज चालिसेद्वारा हस्ताक्षर गरिएको मनोनयन पत्रमा सिंहलाई सो जिम्मेवारी दिइएको उल्लेख छ।
पार्टी केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी गराउन र पार्टीको समानुपातिक मत वृद्धि गर्न सिंहको महत्वपूर्ण भूमिका रहने अपेक्षा गरिएको छ। मनोनयन पत्रमा भनिएको छ:
पार्टीको प्रचार-प्रसार कार्यक्रमलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित ढङ्गले सञ्चालन गर्ने उद्देश्यले उनलाई यो जिम्मेवारी दिइएको हो । आफ्नो सम्पूर्ण क्षमताका साथ सक्रिय भूमिका निर्वाह गरी चुनावलाई परिणाममुखी बनाउनुहुनेछ भन्ने विश्वास लिएका छौँ।
निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेसले तल्लो तहसम्म पार्टीको एजेन्डा पुर्याउन र विपक्षीका आलोचनालाई चिर्दै जनताको मन जित्न प्रचार युद्धमा अनुभवी र सक्रिय कार्यकर्ताहरूलाई परिचालन गरेको देखिन्छ।
नवनियुक्त सदस्य सिंहले पार्टीले सुम्पेको यो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिँदै रौतहट लगायतका क्षेत्रमा कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न र चुनावी रणनीतिलाई थप सशक्त बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा डिजिटल माध्यम र घरदैलो अभियान दुवैलाई सन्तुलित रूपमा अगाडि बढाउने योजना बनाएको छ। प्रवक्ता चालिसेको नेतृत्वमा रहेको यो समितिले देशभरका स्थानीय स्तरसम्म प्रचार टोलीहरू परिचालन गर्ने तयारी गरिरहेको बुझिएको छ।