गौरमा सयौँ युवा नेकपामा प्रवेश: पूर्वप्रधानमन्त्री नेपालद्वारा भव्य स्वागत

रौतहट, १३ फागुन

जिल्लाको सदरमुकाम गौर नगरपालिकामा मंगलवार एक विशेष कार्यक्रमका बीच सयौँको संख्यामा स्थानीय युवाहरू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। पछिल्लो समय युवाहरूमा बढ्दै गएको राजनीतिक सचेतना र नेकपाको सिद्धान्तप्रति आकर्षित हुँदै उनीहरूले विभिन्न पार्टी परित्याग गरी नेकपा रोजेका हुन्।

नवप्रवेशी युवाहरूलाई नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले टिका, खादा र माला लगाएर पार्टीमा भव्य स्वागत गरे । स्वागत कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले देशको विकास र समृद्धिका लागि युवाहरूको काँधमा ठूलो जिम्मेवारी रहेको बताए। उनले नवप्रवेशी युवाहरूलाई पार्टीको नीति र विचारलाई आत्मसात गर्दै जनसेवामा समर्पित हुन आग्रह समेत गरे ।

युवा नेता रेवन्त झाका अनुसार गौर नगरपालिकाका विभिन्न वडाहरूबाट उत्साहित भएर युवाहरू पार्टी प्रवेश गरेका हुन्। झाले भन्ने , आजको यो जनसागरले गौरमा नेकपाको संगठन कति बलियो छ भन्ने प्रष्ट पारेको छ। युवाहरूको यो साथले जिल्लाको राजनीतिमा नयाँ आयाम थप्नेछ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका स्थानीय तथा जिल्ला तहका अन्य नेता तथा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। यस प्रवेशले आगामी निर्वाचन र स्थानीय राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

Comments (0)
Add Comment