कलैया , १४ फागुन
कलैयामा ट्राफिक व्यवस्थापन गम्भीर रूपमा कमजोर बनेको छ। मुख्य भरत चौक क्षेत्रमा सवारी साधनहरूको खुल्लमखुल्ला अव्यवस्थित पार्किङ हुँदा समेत त्यहाँ खटिएको अस्थायी ट्राफिक पोस्टले प्रभावकारी भूमिका नखेलेको स्थानीय स्रोतले गुनासो गरेका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार ट्राफिक प्रहरीहरू कहिले मोबाइल फोनमा व्यस्त देखिन्छन् भने कहिले साना व्यवसायी र ई–रिक्सा चालकबाट पैसा असुली गर्दै ड्युटी सकाइरहेको अवस्था छ। यसले ट्राफिक नियम कार्यान्वयनमा प्रश्न उठाएको छ।
स्थानीय स्रोतका अनुसार ट्राफिक पोस्टको फितलो व्यवस्थापनकै कारण बैंक रोड, महावीर रोड र सोनारपट्टी रोडमा अव्यवस्थित पार्किङ दिनानुदिन बढ्दै गएको छ। ग्रामीण क्षेत्रबाट दैनिक उपभोग्य सामग्री किन्न आउने सर्वसाधारणले जाम, ढिलाइ र असुविधा खेप्नुपरेको बताइएको छ।
यति मात्र होइन, ट्राफिक प्रहरी ऐनअनुसार बालुवा, गिट्टी, इँटा, माटो, सिमेन्ट, डन्डी, उखु लगायत सामग्री ओभरलोड नगरी त्रिपालले छोपेर ढुवानी गर्नुपर्ने व्यवस्था छ। तर स्रोतको दाबी अनुसार अस्थायी ट्राफिक पोस्ट कलैयाकै अगाडिबाट ट्र्याक्टरबाट रु. २०० र ट्रकबाट रु. ५०० असुली गरी ओभरलोड सवारी साधनलाई निर्वाध आवत–जावत गर्न दिइँदै आएको छ। यसरी नियम उल्लंघन हुँदा पनि कुनै कारबाही नहुनुले आर्थिक अनियमितताको आशंका बढाएको स्थानीयको भनाइ छ।
यस विषयमा अस्थायी ट्राफिक पोस्ट कलैयाका प्रमुख जितेन्द्र मण्डलसँग प्रतिक्रिया लिँदा उनले आरोप अस्वीकार गर्दै भने, “म मात्र यहाँ आएको बेला यस्तो भएको होइन। मभन्दा अघि पनि धेरै इन्चार्ज आएर गइसकेका छन्। यो समस्या कलैयामा मात्र होइन, पथलैया, सिमरा, अमलेखगञ्ज र निजगढजस्ता ठाउँहरूमा पनि छ। मैले कसैसँग पैसा लिएको छैन।”
तर स्थानीयवासीहरू भने ट्राफिक अराजकता र सम्भावित असुली प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिरहेका छन्। नियमको कडाइ र प्रभावकारी अनुगमन बिना कलैयाको सडक व्यवस्थापन अझै अस्तव्यस्त बन्दै जाने उनीहरूको चेतावनी छ।