बारा–३ मा परम्परागत दलको प्रभाव घट्दै, रास्वपाका ई. अरविन्द साहप्रति बढ्दो जनसमर्थन

बारा–३ मा परम्परागत दलको प्रभाव घट्दै, रास्वपाका ई. अरविन्द साहप्रति बढ्दो जनसमर्थन

बारा, १७ फागुन

प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नम्बर ३ को राजनीतिक माहोल उल्लेखनीय रूपमा परिवर्तन हुँदै गएको छ । वर्षौँदेखि पालैपालो नेतृत्व गर्दै आएका परम्परागत दलप्रति मतदाताको आकर्षण घट्दै गएको देखिन्छ भने नयाँ राजनीतिक शक्तितर्फ जनताले चासो देखाउन थालेका छन् ।

यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार ई. अरविन्द साहले बारा–३ मा तीव्र घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद बढाइरहेका छन् । उनले जनतासँग निरन्तर सम्पर्क नहुने पुरानो राजनीतिक शैलीको आलोचना गर्दै अब परिणाम देखिने खालको नेतृत्व आवश्यक भएको बताएका छन् ।

घरदैलोका क्रममा साहले भने, “चुनाव आउँदा मात्रै देखिने नेता होइन, जनतासँग सधैं रहने प्रतिनिधि चाहिन्छ । पाँच वर्ष हराउने राजनीति अब स्वीकार्य हुँदैन ।” उनका अनुसार राजनीतिलाई भाषणभन्दा कामबाट प्रमाणित गर्नुपर्ने समय आएको छ ।

साहले बाराको दीर्घकालीन विकासका लागि रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । उद्योग स्थापनामा नीतिगत समस्या र पूर्वाधार अभाव मुख्य बाधक रहेको उल्लेख गर्दै उनले संसदबाट त्यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

“यहाँ सम्भावना हुँदाहुँदै पनि लगानी भित्रिन सकेको छैन,” उनले भने, “युवालाई विदेश पठाउने बाध्यता अन्त्य गर्न यहीँ रोजगारी सिर्जना गर्नुपर्छ ।” कृषि क्षेत्रमा किसानले उचित मूल्य नपाउने समस्या समाधान गर्न बजार, भण्डारण र प्रविधिलाई जोड्नुपर्ने उनको धारणा छ ।

सुशासन र पारदर्शितालाई अभियानको केन्द्रमा राख्दै साहले खर्च, योजना र निर्णय सार्वजनिक हुनुपर्ने बताए । “राजनीति सुविधा होइन, सेवा हो,” उनको भनाइ छ ।

यसैबीच, नेपाली कांग्रेस को आन्तरिक सर्वेक्षणमा बारा–३ मा कांग्रेस र एमालेको अवस्था अपेक्षाकृत कमजोर देखिएको र नयाँ शक्तिका रूपमा रास्वपाका उम्मेदवार साह प्रतिस्पर्धामा अगाडि रहेको संकेत गरिएको छ ।

स्थानीय विश्लेषकहरूका अनुसार युवा मतदाताको सक्रियता, घरदैलो अभियानको प्रभाव र परिवर्तनको चाहनाले बारा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।

अन्त्यमा साह भन्छन्, “यो चुनाव केवल सांसद छान्ने होइन, राजनीतिक संस्कार बदल्ने अवसर हो । जनताको विश्वास जितेर काम गर्ने संकल्पका साथ मैदानमा उत्रिएको छु ।”

Comments (0)
Add Comment