फेटा बजारमा जनमत पार्टीको कोणसभा सम्पन्न, ५० जना कार्यकर्ता पार्टी प्रवेश

बारा , १८ फागुन

बारा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत फेटा गाउँपालिका स्थित फेटा बजारमा सोमबार जनमत पार्टीको कोणसभा सम्पन्न भएको छ। उक्त सभामा जसपा र रास्वपा परित्याग गरी ५० जना कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रमको अध्यक्षता दलित जनमत संघ बारा का अध्यक्ष धर्मेन्द्र पासवानले गरेका थिए। प्रमुख अतिथिका रूपमा समानुपातिक सांसद रोशनी खातुनको उपस्थिति रहेको थियो। यस्तै, विशेष अतिथिमा बारा–४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हसन जान मियाँ, केन्द्रीय कार्यकारिणी समिति सदस्य ओम प्रकाश साह, केन्द्रीय सदस्य हरि कुर्नु तथा जिल्ला सदस्य बादल अँसारी रहेका थिए।

कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार मियाँले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको सुधारलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताए। उनले फेटा गाउँपालिका सहित बारा जिल्लाका जनताका आधारभूत समस्या समाधानका लागि संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। समावेशी विकास र सुशासनमार्फत जनताको जीवनस्तर उकास्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरे।

कार्यक्रममा जनमत पार्टीका स्थानीय नेताहरूले पार्टीको नीति, कार्यक्रम र आगामी योजनाबारे जानकारी गराउँदै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबैलाई एकताबद्ध हुन आग्रह गरेका थिए। कोणसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Comments (0)
Add Comment