कलैया , २१ फागुन
मतदानको दिन नै विभिन्न मतदान केन्द्र परिसरमा प्रचारप्रसार सामग्री राखिएको पाइएको छ। राजनीतिक दल तथा उम्मेदवारका ब्यानर, पोस्टर, झण्डा र चुनावी चिन्हहरू खुलेआम देखिँदा निर्वाचन आचारसंहिताको स्पष्ट उल्लंघन भएको स्थानीयले गुनासो गरेका छन्।
मतदान केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको प्रत्यक्ष उपस्थितिमा समेत यस्ता गतिविधि रोकिएको नदेखिँदा निगरानी कमजोर भएको आरोप लागेको छ। मतदातालाई प्रभाव पार्ने उद्देश्यले मतदान केन्द्र वरिपरि प्रचार सामग्री राखिनु स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनको मर्मविपरीत रहेको सरोकारवालाहरू बताउँछन्।
निर्वाचन आचारसंहिता अनुसार मतदानको दिन कुनै पनि प्रकारको प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ। तर, केही स्थानमा यस नियमको अवहेलना हुँदा मतदाताको स्वतन्त्र निर्णयमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
यस विषयमा सम्बन्धित निकाय, विशेष गरी निर्वाचन आयोग तथा स्थानीय प्रशासनले तत्काल ध्यान दिई दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग उठेको छ। साथै, मतदान केन्द्र वरिपरि कडाइका साथ अनुगमन गरी आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गर्न आग्रह गरिएको छ।
यसैबीच, बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्र अगाडि नेपाली कांग्रेस र नेकपा एमाले का प्रचारप्रसार सामग्री राखिएको पाइएको छ। मतदान केन्द्रको मूल गेट नजिकै दलका चिन्ह र सामग्रीसहित मतदातालाई मत दिन अभिप्रेरित गर्ने गतिविधि भइरहेको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।
स्वच्छ, निष्पक्ष र मर्यादित मतदान सुनिश्चित गर्न सबै सरोकारवाला निकायबीच समन्वय, प्रभावकारी अनुगमन र कडाइ आवश्यक रहेको स्थानीय बुद्धिजीवी तथा मतदाताहरूको भनाइ छ।