रौतहट २२ फागुन
रौतहट क्षेत्र नम्बर २ को निर्वाचन परिणामलाई लिएर राजनीतिक माहोल तातिएको छ। मतदान प्रक्रियामा व्यापक धाँधली र अनियमितता भएको आरोप लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरण कुमार साहले छुट्टाछुट्टै रूपमा पुनः मतदानको माग गरेका छन्।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरूले रौतहटस्थित निर्वाचन कार्यालय अगाडि भेला भएर उग्र नाराबाजी गरेका छन्। रास्वपाका उम्मेदवार शेख सगिरले मतदान केन्द्रहरूमा धाँधली भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका समर्थकहरूले निर्वाचन अधिकृतको कार्यालय घेराउ गर्दै धाँधली भएको मतदान “खारेज गर” र “जनताको मतको कदर गर” जस्ता नारा लगाएका थिए। उम्मेदवार सगिरले कतिपय केन्द्रमा आफ्नो दलका प्रतिनिधिहरूलाई बस्न नदिइएको र मतपेटिका कब्जा गरिएको आरोप लगाए ।
यसैबीच सोही क्षेत्रका अर्का प्रभावशाली उम्मेदवार किरण कुमार साहले पनि निर्वाचन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा औपचारिक निवेदन दर्ता गराएका छन् । साहले क्षेत्र नं २ मा निर्वाचन बदर गरी पुनः निर्वाचन गराउन माग गरेका हुन् ।
साहले पेश गरेका निवेदनमा उल्लेखित नेपाली कांग्रेसका कार्यकर्ताहरूले विभिन्न मतदान केन्द्र नियन्त्रणमा लिएर सर्वसाधारण मतदातालाई प्रवेशमा रोक लगाएको, वास्तविक मतदाताको अनुपस्थितिमा उनीहरूको नामबाट जबरजस्ती एकमुष्ठ मत खसालिएको, विपक्षी उम्मेदवारका प्रतिनिधिहरूलाई डर धम्की देखाई र कुटपिट गरी मतदान केन्द्रबाट बाहिर निकालिएको, सुरक्षाकर्मीको ठूलो उपस्थिति हुँदाहुँदै पनि अराजक समूहले मतदान प्रक्रियालाई प्रभावित पार्दा सुरक्षा निकाय मौन बसेको, “लोकतन्त्रमा जनताको मत सुरक्षित हुनुपर्छ। तर यहाँ त सेटिङमा मत हालिएको छ, यसलाई हामी कुनै पनि हालतमा स्वीकार गर्दैनौँ उम्मेदवार साहले सञ्चारकर्मीहरूसँग भने।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्राप्त निवेदन र उजुरीहरूमाथि अध्ययन भइरहेको जनाए। कार्यालयले शान्ति सुरक्षा कायम राख्न र प्रक्रियालाई कानुन सम्मत अगाडि बढाउन सबै पक्षलाई आग्रह गरेको छ। यद्यपि आन्दोलनकारी पक्षले भने माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
रौतहट क्षेत्र नं. २ मा उत्पन्न यो विवादले मतगणना प्रक्रियामा समेत अन्योल सिर्जना गरेको छ।