बारा–३ मा रास्वपाका अरविन्द साह विजयी, मतदातालाई धन्यवाद

बारा , २३ फागुन

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत अरविन्द साह बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई फराकिलो मतान्तरले पराजित गर्दै ४० हजार ६ सय ९७ मतसहित विजयी भएका हुन्।

निर्वाचनको अन्तिम परिणामअनुसार मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्।

त्यसैगरी जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताले ३ हजार ८ सय १९ मत, **नेपाल कम्युनिष्ट पार्टी (एमाले)**की उम्मेदवार ज्वाला कुमारी साहले ५ हजार २ सय ७१ मत तथा नेपाल कम्युनिष्ट पार्टीका भरत प्रसाद साहले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।

विजयपछि सामाजिक सञ्जाल Facebookमार्फत प्रतिक्रिया दिँदै साहले प्रतिनिधि सभा निर्वाचनमा सहभागी भएका सम्पूर्ण मतदातालाई हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन्।

उनले मतदाताले दिएको प्रत्येक मत केवल मत मात्र नभई विश्वास, आशा र ठूलो जिम्मेवारीको प्रतीक भएको उल्लेख गरेका छन्। बारा जिल्लाका मतदाताले देखाएको माया, विश्वास र समर्थनप्रति आफू नतमस्तक रहेको बताउँदै उनले अब पूर्ण रूपमा जनताको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

साहले यो विजय कुनै एक व्यक्तिको नभई जनताको आवाज, भरोसा र परिवर्तनप्रतिको चाहनाको विजय भएको बताएका छन्। साथै वर्तमान समय र Gen-Z आन्दोलनको मर्मलाई सम्मान गर्दै कुनै पनि प्रकारको विजय जुलुस वा उत्सव नगर्ने निर्णय गरिएको पनि उनले जनाएका छन्।

उनका अनुसार अब छिट्टै नै बारा–३ का मतदाताको घर–घरमा पुगेर जनताको समस्या, पीडा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने तथा त्यसको समाधानका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बारा–३ का सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूलाई पुनः धन्यवाद दिँदै उनले जनताको विश्वासलाई सम्मान गर्दै जनताको सपना पूरा गर्ने यात्रामा अघि बढ्ने बताएका छन्।

Comments (0)
Add Comment