प्रहरीकै मिलेमतोमा रौतहटका सीमा नाकाबाट तस्करीको रजगज: राज्यको राजस्वमा गम्भीर धक्का

​फागुन २७ रौतहटनेपाल-भारत खुल्ला सिमानाको फाइदा उठाउँदै औरैया र महुलिया नाकाबाट पछिल्लो समय व्यापक रुपमा तस्करी भइरहेको पाइएको छ। सुरक्षाको जिम्मेवारी पाएका स्थानीय प्रहरी चौकीकै अधिकारीहरूको प्रत्यक्ष मिलेमतोमा यी नाकाहरूबाट दैनिक करोडौँ मूल्य बराबरका सामानहरू अवैध रूपमा भित्रिने र बाहिरिने गरेको तथ्य बाहिर आएको हो।​​स्थानीय स्रोतका अनुसार प्रहरी चौकी औरैया र महुलिया नाकामा कार्यरत सुरक्षाकर्मीहरूको हरियो सिग्नल पाएपछि तस्करहरूले बिहान र बेलुकीको समयलाई तस्करीको मुख्य समय बनाउने गरेका छन्। साइकल र मोटरसाइकलमा साना परिमाण देखि ठूलो परिमाणमा सामान भित्र्याउने र सीमावर्ती क्षेत्रमा जम्मा गरेपछि ठूला ढुवानीका साधन (ट्रक) प्रयोग गरी देशका विभिन्न भागमा पुर्‍याउने गरिएको हो ।​यस अवैध कार्यमा संलग्न कुख्यात तस्करहरू खुर्सैद आलम, रइस अंसारी, सगिर, बरकत, र मिश्रीलाल साह लगायतको समूहले प्रहरीसँगको सेटिङमा लाइन चलाइरहेको दाबी प्रत्यक्षदर्शीहरूले गरेका छन्। औरैयाका प्रहरी सहायक निरीक्षक असईको प्रत्यक्ष संलग्नतामा नुनदेखि सुनसम्म र कपडादेखि हार्डवेयरसम्मका सामानहरूको तस्करी भइरहेको बुझिएको छ।
​​भारतको बिहार राज्यमा मदिरा निषेध गरिएका कारण नेपाली मदिराको माग उच्च छ। यसैको फाइदा उठाउँदै तस्करहरूले मनमोहन गेटको पूर्वपट्टि तथा महुलियाको बांस घारी मिल स्थित बाट दैनिक हजारौँ कार्टुन मदिरा भारतीय बजारसम्म पुर्‍याउने गरेका छन्। ​लत्ताकपडा र साडी मोटरसाइकलका स्पेयर पार्टस् ​,सेतो मल (युरिया) र चिनी ,​खैनी, किराना, हार्डवेयर र चप्पल ​जस्ता वस्तुहरू कुनै रोकतोक बिना प्रहरी चौकीकै अगाडिबाट तस्करी भइरहेका छन्।
राजस्व संकलनमा भारी गिरावट
​तस्करीको सीधा असर मुलुकको अर्थतन्त्र र राजस्व संकलनमा देखिएको छ। सीमा क्षेत्रका भन्सार कार्यालयहरूले तस्करीका कारण लक्ष्य अनुरूपको राजस्व उठाउन सकेका छैनन्। सरकारी ढुकुटीमा जानुपर्ने करोडौँ रुपैयाँ तस्कर र भ्रष्ट कर्मचारीको खल्तीमा पुग्दा स्थानीय व्यवसायीहरू समेत मारमा परेका छन्। सीमामा खटिएका सुरक्षाकर्मीको ड्युटी खर्च बुझाएपछि मात्र तस्करका सामानले क्लियरिङ पाउँछन्, एक स्थानीयले नाम नछाप्ने सर्तमा बताए। प्रहरीकै अगाडिबाट ट्रकका ट्रक सामान पास हुँदा पनि माथिल्लो निकाय मौन बस्नुले सुरक्षा प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
सुरक्षा निकायको मौनता
​जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा कडाइ गरेको दाबी गरे पनि औरैया र महुलियाको वस्तुस्थिति भने ठीक उल्टो छ। सहायक नाकाहरू चोर नाका मात्र नभई मुख्य सडकबाटै तस्करी हुनुले सुरक्षा निकायको इन्टेलिजेन्स र कार्यक्षमतामाथि प्रश्न उठेको छ।
​स्थानीय प्रशासनले यस विषयमा तत्काल छानबिन गरी दोषी कर्मचारीलाई कारबाही नगरे तस्करीको यो जालो अझै फैलने र राज्यको अर्थतन्त्र थप धराशयी हुने निश्चित छ।

Comments (0)
Add Comment