बारा , २७ फागुन
ब्राह्मण समाज नेपाल, बारा जिल्ला तयारी सचिवालय समितिको बैठक आज स्थानीय देवकिलाल धर्मशालामा सम्पन्न भएको छ। बैठकको प्रमुख आतिथ्यता केन्द्रिय उपाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज देवानन्द उपाध्यायले गर्नुभएको थियो भने का.बा. अध्यक्ष मुक्तिनाथ तिवारि विशेष उपस्थितिका साथ बैठकको अध्यक्षता गर्नुभएको थियो।
बैठकमा सचिवालय समितिले अघि बढाएको अधिबेशनको मिति–तिथिबारे छलफल गर्दै जिल्ला अधिबेशन फाल्गुन ३० गते शनिबार बिहान ११ बजे गर्ने सर्वसम्मत निर्णय गरिएको छ। बैठकमा उपस्थित सबै सदस्यले यो निर्णयलाई अनुमोदन गर्दै मञ्चको ऐक्यबद्धता र सहकार्यलाई महत्वपूर्ण ठहर गरेका थिए।
यसअघि सामाजिक सञ्जालमा दिउँसो करिब २ बजे अधिबेशन स्थगित गरिएको भन्ने म्यान्युट देखिएपछि केही आपत्ति र भ्रम सिर्जना भएको थियो। आजको बैठकले त्यसप्रति स्पष्ट पार्दै अधिबेशन निर्धारित मितिमा गर्ने निर्णय पुनः पुष्टि गरेको छ।
बैठकका क्रममा ब्राह्मण समाज नेपालको गतिविधि, संगठन सुदृढीकरण तथा आगामी कार्यक्रममा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा पनि चर्चा गरिएको थियो। विशेष रूपमा केन्द्रिय उपाध्यक्ष उपाध्याय र अध्यक्ष तिवारिले आगामी अधिबेशनमा सबै सदस्यको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभएको थियो।
सार्वजनिक निर्णयअनुसार, फाल्गुन ३० गतेको जिल्ला अधिबेशन ब्राह्मण समाज नेपालको निजि स्थानमा बिहान ११ बजे प्रारम्भ हुनेछ। बैठकले सबै सदस्यलाई निर्धारित समयमा उपस्थित भई अधिबेशन सफल बनाउन आह्वान गरेको छ।