प्रादेशिक अस्पताल गौरमा कर्मचारी आवास भवन निर्माणको शिलान्यास

मेवालाल यादव

रौतहट, ०१ चैत

प्रादेशिक अस्पताल गौरमा कर्मचारी आवास भवन निर्माणको शिलान्यास कार्यक्रम एक विशेष समारोहबीच सम्पन्न भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो भने स्वास्थ्य तथा जनसंख्या मन्त्री जगिलाल राय विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमका क्रममा मुख्यमन्त्री यादव र स्वास्थ्य मन्त्री रायले संयुक्त रूपमा कर्मचारी आवास भवनको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा बोल्दै उपस्थित अतिथिहरूले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न तथा अस्पतालका चिकित्सक र कर्मचारीलाई सहज तथा सुरक्षित वातावरण प्रदान गर्न कर्मचारी आवास भवन निर्माण अत्यन्त महत्वपूर्ण कदम भएको बताएका छन ।

प्रमुख अतिथि मुख्यमन्त्री यादवले आफ्नो सम्बोधनमा मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दैप्रादेशिक अस्पताल गौरलाई आधुनिक तथा सुविधासम्पन्न स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न योजना अघि बढाइएको जानकारी दिनुभयो। उहाँले स्वास्थ्यकर्मीहरूको आवासीय सुविधा सुधार हुँदा सेवाग्राहीले पनि छिटो र प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी विशिष्ट अतिथि स्वास्थ्य मन्त्री रायले अस्पतालको भौतिक पूर्वाधार विस्तारले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूको विकासका लागि आवश्यक बजेट व्यवस्थापन तथा नीतिगत सुधारमा विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अवधेश प्रसाद यादवले कर्मचारी आवास भवन निर्माणले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दीर्घकालीन रूपमा सेवा प्रदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकार तथा सम्बन्धित निकायहरूको सहयोगबाट अस्पतालको समग्र विकास सम्भव भएको पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा मधेश प्रदेश सरकारका विधायक नागेन्द्र साह, मेसु मुरारी ठाकुर लगायत विभिन्न राजनीतिक व्यक्तित्व, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

Comments (0)
Add Comment