पर्सा–४ मा पराजयपछि रमेश रिजालको घोषणा : अब कुनै पनि चुनाव लड्दिनँ

हरिकोशोर शर्मा

पर्सा, ०१ चैत

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन्। पर्सा क्षेत्र नम्बर ४ मा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले यस्तो घोषणा गरेका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पर्सा–४ मा कांग्रेसले व्यहोरेको हारको समीक्षा गर्न शनिबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रिजालले अब संसदीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बताएका हुन्। उनले चुनाव नलडे पनि क्षेत्रका जनताको सेवामा भने निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।

भेलालाई सम्बोधन गर्दै रिजालले भने, “आजै म घोषणा गर्छु, अब म चुनाव लड्दिनँ। युवा पुस्तालाई मेरो साथ र समर्थन रहन्छ। तर चुनाव नलडे पनि यस क्षेत्रका जनताको सेवामा भने म लागि नै रहन्छु।”

उनले पर्सा क्षेत्र नम्बर ४ को विकास, समृद्धि र यहाँका जनताको समस्या समाधानका लागि आफ्नो तर्फबाट हुन सक्ने हरेक प्रयास जारी रहने पनि बताए।

वि.सं. २०४८ सालयता हरेक संसदीय निर्वाचनमा कांग्रेसका उम्मेदवार बन्दै आएका रिजालले चार पटक जित र चार पटक हारको अनुभव बटुलेका छन्। उनी २०४८, २०५१, २०६४ र २०७९ सालको निर्वाचनमा सांसद निर्वाचित भएका थिए भने २०५६, २०७०, २०७४ र हालै फागुन २१, २०८२ मा सम्पन्न निर्वाचनमा पराजित भएका थिए। लामो राजनीतिक यात्रापछि उनले चुनावी प्रतिस्पर्धाबाट अलग हुने घोषणा गर्नु कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

फरक प्रसंगमा रिजालले फागुन २१ को निर्वाचनमा आफू र कांग्रेसलाई मत दिने मतदाताप्रति आभार व्यक्त गरे। उनले परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारतर्फ गएका कांग्रेसका कार्यकर्ता र समर्थकहरूप्रति कुनै गुनासो नरहेको भन्दै पुनः पार्टीमै फर्किन आग्रह गरे।

जनमतको सम्मान गर्ने उल्लेख गर्दै उनले भने, “जनता जनार्दन हुन्, जनमतको कदर गर्नुपर्छ। जनताको दुःखसुखमा उभिने पार्टी भनेकै कांग्रेस हो। कांग्रेसलाई भरोसा गरेर घर फर्किन म आग्रह गर्छु।”

रिजालले कांग्रेसबाट विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई पनि जनसेवामुखी भएर काम गर्न सुझाव दिए। “मालिक बन्ने कोशिश नगर्नुहोस्, जनताको सेवक बनेर काम गर्नुहोस्। म तपाईँहरुकै साथमा छु र रहन्छु,” उनले भने।

कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त भेलामा मधेश प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेय, नेता वशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतका नेताहरूको पनि सहभागिता रहेको थियो।

रिजालको घोषणालाई पर्सा कांग्रेसभित्र पुस्तान्तरण र नयाँ नेतृत्व विकासतर्फको संकेतका रूपमा पनि हेरिएको छ। लामो समयदेखि क्षेत्रीय राजनीतिमा प्रभाव राख्दै आएका उनले अब युवापुस्तालाई अघि बढ्न आग्रह गरेपछि पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे नयाँ बहस सुरु हुने देखिएको छ।

Comments (0)
Add Comment