बारा , ०१ चैत
बाराको कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वामा फेरि चोरीको घटना दोहोरिएपछि स्थानीयवासी त्रसित बनेका छन्। प्रहरी चौकीकै आसपासमा लगातार चोरीका घटना हुन थालेपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। पछिल्लो पटक गएराति स्थानीय सागर गुप्ताले सञ्चालन गर्दै आएको किताब, कपी तथा मनि ट्रान्सफर सेवाको पसलमा अज्ञात व्यक्तिले सट्टरको ताल्चा काटेर चोरी गरेका हुन्।
स्थानीयका अनुसार मध्यरातिको समयमा भएको उक्त चोरीमा कम्तीमा डेढ लाख रुपैयाँभन्दा बढी नगद तथा पसलका सामग्री गायब भएको छ। बिहान पसल खोल्न पुगेका गुप्ताले सट्टरको ताल्चा काटिएको देखेपछि चोरी भएको थाहा पाएका थिए। घटनापछि आसपासका स्थानीयवासी समेत जम्मा भएका थिए भने प्रहरीले घटनास्थलको निरीक्षण गरेको बताइएको छ।
चिन्ताको विषय के छ भने चोरी भएको पसलबाट करिब पाँच सय मिटरको दुरीमै प्रहरी चौकी रहेको छ। त्यति नजिक प्रहरी चौकी हुँदाहुँदै पनि पटक–पटक चोरीका घटना भइरहनु सुरक्षा व्यवस्थाको कमजोरी भएको स्थानीयको आरोप छ। पसल नजिकै मटिअर्वा माध्यमिक विद्यालय समेत रहेको छ, जसले गर्दा यो क्षेत्र सधैं मानिसको आवतजावत हुने स्थान मानिन्छ।
स्थानीयवासीका अनुसार यो पहिलो घटना भने होइन। करिब डेढ वर्षअघि सोही क्षेत्रमा रहेको एक सुनचाँदी पसलमा समेत ठूलो चोरी भएको थियो। त्यसैगरी केही दिनअघि मात्रै नजिकैको एक घरमा दुई पटकसम्म चोरी भएको घटना बाहिर आएको थियो। तर ती घटनामा संलग्न व्यक्तिहरू अझै पक्राउ नपरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।
लगातार भइरहेका यस्ता घटनाले मटिअर्वा क्षेत्रका व्यापारी तथा सर्वसाधारणमा असुरक्षाको भावना बढ्दै गएको छ। स्थानीयले प्रहरी प्रशासनलाई रातिको गस्ती प्रभावकारी बनाउन, सीसीटीभी निगरानी बढाउन तथा चोरीमा संलग्न व्यक्तिहरूलाई छिटो पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूका अनुसार सुरक्षा व्यवस्थामा सुधार नभए यस्ता घटना अझै बढ्न सक्ने खतरा रहेको छ।