कलैया उपमहानगरपालिका–२४ मा रिलायन्स चिनी मिलका कारण प्रदूषण समस्या गम्भीर

कलैया, ०३ चैत

कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी मिलले उत्पन्न गर्ने प्रदूषणले स्थानीयवासीको जीवनशैली र स्वास्थ्यमा असर पुर्याएको भन्दै समुदायमा चिन्ता बढेको छ। विकसित मुलुकहरूमा औद्योगिक क्षेत्रहरू प्रायः मानव बस्तीबाट टाढा राखिन्छन्, तर नेपालमा उद्योग र बस्तीबीच दूरी पर्याप्त नहुँदा नागरिकहरू प्रत्यक्ष प्रभावमा पर्ने अवस्था देखिन्छ।

सामाजिक अभियन्ता सौरभ चौगाईले आफ्ना सामाजिक सञ्जालमा उद्योगबाट निस्किने धुवाँ, दुर्गन्ध र प्रदूषित पानीका फोटो र जानकारी सार्वजनिक गर्दै सम्बन्धित निकायबाट समस्या समाधानको माग गरेका छन्। उनका अनुसार, रिलायन्स चिनी मिलको दुर्गन्ध ६ किलोमीटर टाढा रहेको कलैया बजारसम्म पनि महसुस हुन सक्छ, जसले उद्योग क्षेत्र नजिक बस्ने बासिन्दाहरूको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पारिरहेको छ।

विगतमा पनि सो मिलबाट निस्कने धुवाँले स्थानीय जनजीवन प्रभावित पारेको थियो भने प्रदूषित पानीले मानव स्वास्थ्य, पशुपन्छी र कृषि उत्पादनमा समेत क्षति पुर्याएको तथ्य पुष्टि भइसकेको छ। उद्योग सञ्चालन अघि वातावरणीय प्रभाव मूल्यांकन (Environmental Impact Assessment) गर्नुपर्ने कानुनी प्रावधान नेपालमा भए पनि व्यवहारमा धेरैजसो उद्योगहरूले यसलाई ध्यान नदिँदै सञ्चालन गरिरहेको देखिन्छ।

समाजका विभिन्न प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय बारासँग तत्काल कदम चालेर समस्या समाधान गर्न आग्रह गरेका छन्। अभियन्ता सौरभ चौगाईले भनेका छन्, “उद्योगले निस्काउने प्रदूषणले स्थानीयको स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पुर्याउँछ। सम्बन्धित निकायले तत्काल कारबाही गर्दै वातावरणीय मापदण्ड पालना गराउनुपर्छ।”

यसअघि पनि बिभिन्न सञ्चार माध्यमहरूले रिलायन्स चिनी मिलसँग सम्बन्धित प्रदूषण र बासिन्दामाथि यसको असरबारे नियमित समाचार प्रकाशन गर्दै आएका छन्। सामाजिक अभियन्ता र स्थानीयवासीको दवावसँगै अब प्रशासन र उद्योगद्वारा वातावरणीय सुरक्षा तथा जनस्वास्थ्य सुनिश्चित गर्न थप कदम चालिनुपर्ने अवस्था देखिएको छ।

विशेषज्ञहरूले सुझाएका छन् कि उद्योग र बस्तीबीच पर्याप्त दूरी कायम गर्नु, धुवाँ नियन्त्रणका प्रविधि लागू गर्नु, र निस्किने पानीको उचित प्रबन्ध गर्नु आवश्यक छ, नभए स्थानीयवासीको स्वास्थ्य र कृषि उत्पादनमा दीर्घकालीन क्षति हुने जोखिम बढेको छ।

Comments (0)
Add Comment