बारा , ०७ चैत
चालु आर्थिक वर्षको माघ महिनासम्म बारा जिल्लामा ५० जना कुष्ठरोगी फेला परेका छन्। तीमध्ये १४ वर्षमुनिका १५ जना बालबालिका रहेको तथ्य सार्वजनिक भएपछि सरोकारवालामा चिन्ता बढेको छ।
द लेप्रोसी मिशन नेपालका मधेश प्रदेश संयोजक अंजनअलि बिकरानीले बालबालिकामा समेत यति धेरै सङ्ख्यामा कुष्ठरोग देखिनु गम्भीर विषय भएको बताउनुभयो। उहाँले शुक्रबार उद्योग वाणिज्य संघ बारा को सभाहल, कलैयामा आयोजित एक दिने कुष्ठरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो। कार्यक्रममा सरोकारवाला निकाय तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
बिकरानीका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा कुष्ठरोगीको विवरण यसप्रकार रहेको छः
जितपुर सिमरा उपमहानगरपालिकामा १० महिला सहित १५ जना, सिम्रौनगढ नगरपालिकामा ३ महिला सहित ७ जना, कोल्हवी नगरपालिकामा २ महिला सहित ६ जना, पचरौता नगरपालिकामा २ महिला सहित ५ जना, कलैया उपमहानगरपालिकामा १ महिला सहित ४ जना, देवताल गाउँपालिकामा १ महिला सहित ३ जना, फेटा गाउँपालिकामा १ महिला सहित ३ जना, महागढीमाई नगरपालिकामा १ महिला सहित २ जना, आदर्श कोतवाल गाउँपालिकामा १ महिला सहित २ जना, प्रसौनी गाउँपालिकामा १ जना, करैयामाई गाउँपालिकामा १ जना तथा सुवर्ण गाउँपालिकामा १ जना कुष्ठरोगी फेला परेका छन्।
कार्यक्रममा स्वास्थ्य कार्यालय बारा का प्रमुख चेतनारायण पंडित, कर्मचारी भागिरथ चौधरी तथा कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख शैलेश महतोले कुष्ठरोगबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको जोड दिनुभयो।
उनीहरूले नियमित औषधि सेवनबाट कुष्ठरोग पूर्ण रूपमा निको हुने भएकाले रोग लुकाएर बस्नुको सट्टा नजिकको स्वास्थ्य संस्थामा गई उपचार सुरु गर्न आग्रह गर्नुभयो। साथै जिल्लाभरका स्वास्थ्य चौकीहरूमा कुष्ठरोगको औषधि निःशुल्क रूपमा उपलब्ध रहेको जानकारी गराइएको छ।
कार्यक्रममा जिल्ला सक्रिय सञ्चारकर्मी, शिक्षक, मन्दिरका पण्डित, मदरसाका मौलबी, चर्चका प्रतिनिधि तथा अन्य सम्बन्धित निकायका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
सरोकारवालाहरूले समयमै पहिचान, उपचार र जनचेतना अभिवृद्धि मार्फत कुष्ठरोग नियन्त्रण सम्भव रहेको निष्कर्ष निकाल्दै समुदायस्तरमै सचेतना अभियानलाई अझ सशक्त बनाउने आवश्यकता औँल्याएका छन्।