भारतबाट दुई नेपाली युवतीको उद्धार, वीरगंज ल्याई सुरक्षित आवासमा राखियो

पर्सा , ०६ चैत

भारतका विभिन्न बालिका गृहमा आश्रित अवस्थामा रहेका दुई नेपाली युवतीलाई उद्धार गरी स्वदेश फर्काइएको छ। मानव बेचबिखनविरुद्ध सक्रिय आफन्त ईण्डिया फाउन्डेसनको समन्वयमा उनीहरूलाई वीरगंज ल्याइएको हो।

फाउन्डेशनकी रिप्याट्रेशन अधिकृत सुनिता जैरुले धनुषाधामकी एक र वीरगंज–२१ की अर्की २२ वर्षीया युवतीलाई नेपाल ल्याएकी हुन्। हाल दुवैलाई आफन्त नेपालको वीरगंज शाखा स्थित सुरक्षित आवासमा राखिएको छ। शाखा प्रमुख मनु रानाका अनुसार दुवै युवतीको परिवारसँग सम्पर्क भइसकेको छ र चाँडै नै पुनर्मिलनको तयारी भइरहेको छ।

उद्धार गरिएकी वीरगंजकी युवती १५ वर्षकै उमेरमा भारतको उत्तर प्रदेशमा बालविवाहमा परेकी थिइन्। वैवाहिक जीवनमा निरन्तर शारीरिक तथा मानसिक हिंसा सहन नसकेपछि उनी घर छोडेर हिँडेकी थिइन्। भारतमै फेला परेपछि उनलाई त्यहाँको आश्रयस्थलमा राखिएको थियो। पछि स्वास्थ्य अवस्था सुधार भएपछि उनले आफ्नो पहिचान र घर ठेगाना खुलाएकी थिइन्, जसपछि उद्धार प्रक्रिया अघि बढाइएको हो।

यस्तै, धनुषाधामकी युवती पनि वैवाहिक हिंसाबाट पीडित रहेकी थिइन्। पटक–पटकको दुर्व्यवहार सहन नसकेपछि उनी घर छोडेर भारत पुगेकी थिइन्। उनलाई राजस्थानको भरतपुरमा एक गैरसरकारी संस्थाले संरक्षण दिएको थियो। पछि उनले आफ्नो परिचय खुलाएपछि समन्वयमार्फत नेपाल फर्काइएको हो।

दुवै युवतीको उद्धार प्रक्रियामा भारतस्थित नेपाली दूतावास तथा स्थानीय प्रहरी प्रशासनसँग सहकार्य गरिएको जनाइएको छ, जसले सीमा पार समन्वयलाई प्रभावकारी बनाएको देखिन्छ।

यसैबीच, आफन्त नेपाल वीरगंज शाखाले सन् २०२६ को अढाई महिनामै ६३ जना महिलाको उद्धार गरिसकेको जनाएको छ। तीमध्ये अधिकांशलाई परिवारसँग पुनर्मिलन गराइएको छ भने केहीलाई सीपमूलक तालिमसहित सुरक्षित आवासमा राखिएको छ।

संस्थाले मानव बेचबिखन, बालविवाह र घरेलु हिंसाविरुद्ध अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै जोखिममा रहेका महिला तथा किशोरीहरूको संरक्षणमा निरन्तर लागिरहने जनाएको छ।

Comments (0)
Add Comment