ईद उल फित्रका अवसरमा आज सार्वजनिक बिदा

बारा , ०७ चैत

सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल फित्र का अवसरमा आज शनिबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालय का प्रवक्ता आनन्द काफ्लेद्वारा शुक्रबार जारी विज्ञप्तिमा उक्त निर्णयको जानकारी दिइएको हो। मन्त्रालयले नेपाल राजपत्रमा भएको व्यवस्थाअनुसार मुस्लिम आयोगबाट प्राप्त सूचनाका आधारमा चैत ७ गते ईद पर्व परेको पुष्टि गर्दै बिदा दिने निर्णय गरिएको जनाएको छ।

विज्ञप्तिमा देश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीहरूमा शुभकामना व्यक्त गरिएको छ।

ईद उल फित्र इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाभरको रोजा (उपवास) समापनको अवसरमा मनाउने प्रमुख पर्व हो। यस दिन मुस्लिम समुदायले विशेष नमाज अदा गर्दै आपसी सद्भाव, सहयोग र भाइचाराको सन्देश आदानप्रदान गर्ने परम्परा रहेको छ।

सरकारले धार्मिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै विभिन्न समुदायका चाडपर्वमा सार्वजनिक बिदा दिने प्रचलनअनुसार ईदका दिन पनि बिदा दिने निर्णय गरेको जनाएको छ।

Comments (0)
Add Comment