भारतमा फर्सीको बीउसहित ट्रक पक्राउ, बारा नाकाबाट तस्करी भएको खुलासा

बारा , ७ चैत

भारतमा ठूलो परिमाणमा फर्सीको बीउसहित ट्रक नियन्त्रणमा लिइएपछि उक्त बीउ नेपालतर्फको बारा जिल्लाबाट तस्करी भएको तथ्य सार्वजनिक भएको छ। यस घटनाले सीमा सुरक्षामा खटिएका निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

भारतीय सीमा सुरक्षा निकाय सशस्त्र सिमा बल (एसएसबी) को ७१औँ बटालियन मोतिहारी अन्तर्गतको इन्टेलिजेन्स शाखाले प्राप्त गोप्य सूचनाका आधारमा बुधबार उक्त कारबाही गरेको हो। एसएसबीका प्रवक्ता विनीत कुमार सिंहका अनुसार नेपालतर्फको बारा जिल्लाको सिम्रौनगढ, कवही तथा रौतहटको बन्कुल क्षेत्रबाट मोटरसाइकलमार्फत फर्सीको बीउ सीमापार पुर्‍याई भारततर्फ संकलन गरिने र त्यसपछि ट्रकमार्फत अन्यत्र पठाइने योजना रहेको थियो।

प्राप्त सूचनाअनुसार उक्त बीउ भारतको बसवरिया गाउँ (घोडासहन थाना क्षेत्र) मा जम्मा गरी विभिन्न स्थानमा पठाइने तयारी भइरहेका बेला ट्रकसहित नियन्त्रणमा लिइएको हो। घटनापछि सीमा क्षेत्रमा सक्रिय तस्करी सञ्जालको व्यापकता पुनः उजागर भएको छ।

उल्लेखनीय कुरा के छ भने सिम्रौनगढ र कवही क्षेत्रमा नेपालतर्फ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल का सीमा चौकी (बीओपी) हरू स्थापना भइसकेका छन्। यति हुँदाहुँदै पनि यसरी खुलेआम तस्करी हुनु सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठ्ने आधार बनेको छ।

स्थानीय स्रोतहरूका अनुसार सीमा क्षेत्रमा तस्करीको जालो सक्रिय रहँदै आएको छ। कतिपय अवस्थामा निगरानी कमजोर भएको वा सम्बन्धित निकायकै मिलेमतोमा तस्करी भइरहेको आशंका समेत व्यक्त गर्न थालिएको छ। यद्यपि यसबारे आधिकारिक निकायबाट विस्तृत प्रतिक्रिया आउन बाँकी छ।

घटनापछि बारा प्रहरी र सशस्त्र प्रहरीमाथि तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेको छ। सीमा क्षेत्रमा निगरानी कडा पार्न र तस्करी सञ्जालमाथि नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न सरोकारवालाहरूले माग गरेका छन्।

Comments (0)
Add Comment