जनताको सेवाका लागि जनप्रतिनिधि चाहिन्छ, दलको सेवाका लागि होइन: स्थानीय निर्वाचन निर्दलीय गराउन युवा नेता दुबेको आग्रह

बारा, ०८ चैत

जनताको सेवाका लागि जनप्रतिनिधि आवश्यक पर्ने तर दलको सेवाका लागि जनप्रतिनिधि नचाहिने भन्दै युवा नेता उमेश दुबेले स्थानीय तहको निर्वाचन निर्दलीय रूपमा गराउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हाल बन्न गइरहेको सरकारलाई स्थानीय तहको निर्वाचन प्रणालीमा सुधार गर्न सुझाव दिएका हुन् ।

फेटा गाउँपालिका अध्यक्ष पदका भावी उम्मेदवार तथा निरन्तर समाज सेवामा सक्रिय रहेका युवा नेता दुबेले स्थानीय तहमा दलगत राजनीति बढ्दै जाँदा जनताको वास्तविक सेवा ओझेलमा परेको बताएका छन् । उनका अनुसार स्थानीय तहमा दलको झण्डा र भागबण्डाको राजनीति हाबी हुँदा विकास निर्माण, सुशासन र पारदर्शितामा गम्भीर असर परेको छ । त्यसैले स्थानीय निर्वाचन निर्दलीय रूपमा गराउन सके जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने जनप्रतिनिधि चयन हुने उनको विश्वास छ ।

दुबेले फेसबुक स्टेटसमार्फत स्थानीय तहमा देखिएको भ्रष्टाचार, कमिसनतन्त्र र कुर्सी केन्द्रित राजनीतिले जनतामा निराशा बढाएको उल्लेख गरेका छन् । उनले दलको आडमा जितेर आउने जनप्रतिनिधि भन्दा जनताको विश्वास जितेर आउने स्वतन्त्र उम्मेदवार बढी जिम्मेवार हुने दाबी गरेका छन् । “जनताको सेवाका लागि जनप्रतिनिधि चाहिन्छ, दलको सेवाका लागि होइन,” भन्ने नारालाई अगाडि बढाउँदै उनले स्थानीय तहमा निर्दलीय निर्वाचनको अभ्यास आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार निर्दलीय निर्वाचन प्रणाली लागू भएमा स्थानीय स्तरमा हुने राजनीतिक हस्तक्षेप कम हुने, योग्य र समाजसेवामा सक्रिय व्यक्तिहरू नेतृत्वमा आउने तथा भ्रष्टाचार र बेथितिमा उल्लेख्य कमी आउने सम्भावना रहन्छ । साथै, स्थानीय सरकार जनताप्रति बढी उत्तरदायी बन्ने र विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुने उनको भनाइ छ ।

युवा नेता दुबेले हाल देशभर कर्मचारी र शिक्षकलाई दलको झण्डा बोकेर राजनीति गर्न नपाउने विषयमा भइरहेको बहसलाई सकारात्मक संकेतका रूपमा लिँदै स्थानीय तहमा पनि यस्तै सुधार आवश्यक रहेको बताएका छन् । उनले सरकारलाई जनताको भावना बुझेर स्थानीय तहको निर्वाचन प्रणालीमा नयाँ अभ्यास सुरु गर्न आग्रह गरेका छन् ।

स्थानीय तहमा पारदर्शिता, सुशासन र जनमुखी नेतृत्व स्थापित गर्न निर्दलीय निर्वाचन आवश्यक रहेको भन्दै दुबेले युवाहरूलाई पनि समाज परिवर्तनका लागि सक्रिय भूमिका खेल्न आह्वान गरेका छन् । उनका अनुसार अबको राजनीति सेवा र जिम्मेवारी केन्द्रित हुनुपर्ने र जनताको अपेक्षा पूरा गर्ने नेतृत्व अगाडि आउनुपर्ने समय आएको छ ।

Comments (0)
Add Comment