वीरगंज , ०९ चैत
हरि खेतान बहुमुखी क्याम्पस मा व्यवस्थापन र शिक्षकबीचको विवादका कारण उत्पन्न तनाव अन्ततः सहमतिमा टुंगिँदै विद्यार्थीहरूको आन्दोलन स्थगित भएको छ।
आइतबार कक्षा ११ र १२ को परीक्षा स्थगित भएपछि आक्रोशित बनेका विद्यार्थीहरू दिनभर सडक आन्दोलनमा उत्रिएका थिए। तर साँझतिर क्याम्पस प्रशासन, शिक्षक प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलपछि नियमित रूपमा परीक्षा सञ्चालन गर्ने सहमति बनेसँगै आन्दोलन फिर्ता लिइएको हो।
परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूलाई अन्तिम समयमा परीक्षा स्थगित भएको जानकारी दिइएपछि उनीहरू आक्रोशित बनेका थिए। विरोधस्वरूप विद्यार्थीहरूले क्याम्पस अगाडि नाराबाजी गर्दै प्रदर्शन गरेका थिए।
स्थिति तनावपूर्ण बन्दै गएपछि प्रहरीले हस्तक्षेप गर्दा झडपको अवस्था सिर्जना भएको थियो। सो क्रममा लाठीचार्ज हुँदा एक विद्यार्थी घाइते भएका थिए भने केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको थियो।
आन्दोलनरत विद्यार्थीहरू वीरगञ्जको मुख्य केन्द्र घण्टाघर चोक पुगेर चक्काजामसमेत गरेका थिए। टायर बाल्दै गरिएको प्रदर्शनका कारण केही समय यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।
प्रदर्शन उग्र बन्दै जाँदा क्याम्पसको बसमा तोडफोड गरिएको थियो भने सडक किनारमा रोपिएका बिरुवाहरू पनि क्षति पुगेका छन्। साथै, एक व्यक्तिमाथि कुटपिट भएको घटनाले स्थिति अझ तनावपूर्ण बनेको थियो।
घटनापछि शहरका विभिन्न स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति राखिएको थियो।
दिनभरको तनावपछि क्याम्पस प्रशासन, शिक्षक संघ र अन्य सरोकारवालाबीच भएको वार्तामा परीक्षा नियमित रूपमा सञ्चालन गर्ने सहमति बनेको छ। सहमतिसँगै विद्यार्थीहरूले आन्दोलन स्थगित गरेका छन्।
यद्यपि, विद्यार्थीहरूले लामो समयदेखि व्यवस्थापन र शिक्षकबीचको द्वन्द्वका कारण पठनपाठन र आन्तरिक परीक्षा प्रभावित हुँदै आएको गुनासो गरेका छन्। उनीहरूले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन स्थायी समाधानको माग गरेका छन्।
लगातार देखिँदै आएको आन्तरिक विवादले शैक्षिक वातावरणमा नकारात्मक असर पारेको भन्दै सरोकारवालाहरूले संवाद र समन्वयमार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।