पर्सा, ९ चैत
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको कमजोर ट्राफिक व्यवस्थापनका कारण वीरगंजस्थित बाइपास सडकमा दुर्घटनाको जोखिम दिनानुदिन बढ्दै गएको छ । बाइपास सडकमा ठूला सवारी साधनहरू जथाभावी पार्किङ्ग गरिने, सडक अतिक्रमण बढ्ने र नियमित चेकजाँचमा लापरबाही हुने गरेपछि स्थानीयवासी र सवारी चालकहरू त्रसित बनेका छन् ।
स्थानीयका अनुसार बाइपास सडकको दायाँबायाँ मालवाहक ट्रक, टिपर र अन्य ठूला सवारी साधनहरू लामो समयसम्म पार्किङ्ग गरेर राखिने गरेको छ । यसले सडक साँघुरो बनेको छ भने साना सवारी साधन र मोटरसाइकल चालकहरूलाई आवतजावत गर्न निकै कठिन भएको छ । विशेषगरी रातिको समयमा दृश्यता कम हुँदा दुर्घटनाको जोखिम झनै बढ्ने गरेको स्थानीयको गुनासो छ ।
यातायात व्यवस्थापन र सवारी चेकजाँचको जिम्मा पाएका ट्राफिक प्रहरीले प्रभावकारी रूपमा अनुगमन नगरेको आरोप समेत लागेको छ । केही कारखाना तथा व्यवसायिक क्षेत्रसँग मासिक आर्थिक संकलन गरी पार्किङ्गलाई मौन स्वीकृति दिएको आरोप स्थानीयवासीहरूले लगाएका छन् । यदि यस्ता गतिविधि सत्य भएमा यसले ट्राफिक व्यवस्थापनमा गम्भीर प्रश्न खडा गरेको उनीहरूको भनाइ छ ।
बाइपास सडक औद्योगिक क्षेत्रसँग जोडिएको महत्वपूर्ण मार्ग भएकाले दैनिक हजारौ सवारी साधन ओहोरदोहोर गर्छन् । तर ट्राफिक व्यवस्थापनमा कमजोरीका कारण सवारी आवागमन अव्यवस्थित बन्दै गएको छ । समयमै ठोस कदम नचालिए ठूलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले तत्काल अनुगमन कडा पार्दै जथाभावी पार्किङ्ग हटाउन, नियमित चेकजाँच बढाउन र दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीय तथा सरोकारवालाहरूले गरेका छन् । साथै सम्बन्धित निकायले बाइपास सडकलाई सुरक्षित र व्यवस्थित बनाउन दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता औंल्याइएको छ ।