श्रद्धा र निष्ठासाथ चैती छठको दोस्रो दिन ‘खरना’ पर्व आज मनाइँदै

कलैया , ०९ चैत

मधेस प्रदेशमा श्रद्धा, निष्ठा र धार्मिक आस्थाका साथ मनाइने चैती छठ पर्वको आज दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गरिँदैछ। आइतबारदेखि विधिवत् रूपमा सुरु भएको यस पर्वमा ब्रतालुहरू आज दिनभरि निराहार उपवास बसेर साँझ विशेष पूजा–अर्चना पश्चात् प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।

खरना छठ पर्वको अत्यन्त महत्वपूर्ण चरण मानिन्छ। यस दिन ब्रतालुहरूले दिनभरि अन्न तथा पानीसमेत त्यागेर कठोर उपवास बस्छन्। साँझ पवित्र रूपमा तयार गरिएको सख्खर (गुड़) प्रयोग गरी बनाइएको खिर, रोटी तथा केरा जस्ता सामग्री भगवान सूर्यलाई अर्पण गरिन्छ। त्यसपछि उक्त प्रसाद ग्रहण गर्दै ब्रतालुहरूले आगामी मुख्य व्रतका लागि आत्मशुद्धि र आध्यात्मिक तयारी पूरा गर्ने विश्वास छ।

मधेसका बारा, पर्सा, रौतहट, धनुषा लगायतका जिल्लामा आज बिहानदेखि नै छठ घाटहरूमा चहलपहल बढेको छ। घर–घरमा खरनाका लागि आवश्यक सामग्री तयारी भइरहेको छ भने घाटहरू सरसफाइ र सजावटले झन् आकर्षक बनेका छन्। स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न संघसंस्थाले घाट क्षेत्रमा सरसफाइ, प्रकाश व्यवस्था र सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाएका छन्।

छठ पर्व सूर्य उपासनासँग सम्बन्धित चार दिने विशेष धार्मिक पर्व हो। पहिलो दिन ‘नहाय–खाय’ सम्पन्न गरेपछि दोस्रो दिन ‘खरना’, तेस्रो दिन षष्ठीमा साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने ‘सँझिया घाटको अर्घ’ र चौथो दिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई ‘भोरघाट’ तथा ‘पारन’ गरी पर्व समापन गरिन्छ।

विशेषगरी खरना पश्चात् सुरु हुने निराहार व्रतलाई अत्यन्त कठिन र पवित्र मानिन्छ। ब्रतालुहरूले करिब ३६ घण्टासम्म पानीसमेत नखाई व्रत बस्ने गर्दछन्, जसले धार्मिक समर्पण र आत्मसंयमको उच्च उदाहरण प्रस्तुत गर्छ।

छठ पर्वमा ठेकुवा, केरा, उखु, सुन्तला, निम्बू, सुथनी, मुला लगायतका फलफूल तथा परिकार अर्घ्यका रूपमा प्रयोग गरिन्छ। यी सबै सामग्रीलाई पवित्र मान्दै सूर्य देव र छठी मैयालाई अर्पण गरिन्छ। यस व्रतले परिवारको सुख–समृद्धि, सन्तानको कल्याण तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ।

कात्तिक महिनामा मनाइने छठ जत्तिकै व्यापक सहभागिता नभए पनि चैती छठले मधेस क्षेत्रमा धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउँदै आएको छ। श्रद्धा र निष्ठाका साथ मनाइँदै आएको खरना पर्वले छठको मुख्य अनुष्ठानतर्फ अग्रसर गराउँदै ब्रतालुहरूलाई आध्यात्मिक रूपमा अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

Comments (0)
Add Comment