बारा, १० चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला समितिले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका चारवटै क्षेत्रमा प्राप्त ऐतिहासिक विजयप्रति सम्पूर्ण मतदाता, शुभेच्छुक तथा पार्टीका कार्यकर्ताप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ। समितिले उक्त विजयलाई कुनै एक दलको मात्र नभई आम नेपाली जनताले परिवर्तनका पक्षमा दिएको स्पष्ट सन्देशका रूपमा व्याख्या गरेको छ।
समितिका सभापति चन्दन कुमार स्वर्णकारद्वारा जारी प्रेस विज्ञप्तिमा हाल केही व्यक्तिहरूले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी विभिन्न वडा, पालिका तथा प्रदेश क्षेत्रमा टिकट वितरण भइसकेको भन्ने भ्रमपूर्ण हल्ला फैलाइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा पार्टीको विधानअनुसार उम्मेदवार चयनका लागि स्पष्ट र संस्थागत प्रक्रिया रहेको जनाउँदै हालसम्म कुनै पनि तह (वडा, पालिका वा प्रदेश) का लागि कसैलाई पनि टिकट वितरण नगरिएको स्पष्ट पारिएको छ। पार्टीको आधिकारिक निर्णयबिना कसैलाई टिकट दिने आश्वासन दिने वा वितरण गरिएको दाबी गर्ने कार्यलाई गम्भीर अनुशासन उल्लंघन मानिने र यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।
यसैगरी, पार्टीभित्र “फोहोरी राजनीति” गरी अस्थिरता सिर्जना गर्ने तथा संगठनलाई कमजोर बनाउने प्रयासप्रति पनि समितिले आपत्ति जनाएको छ। यस्ता गतिविधिले पार्टीको छवि धुमिल पार्ने प्रयास गरेमा रास्वपा चुप लागेर नबस्ने स्पष्ट सन्देश दिइएको छ।
रास्वपा बारा जिल्ला समितिले पार्टीका सम्पूर्ण तहगत संरचना, समिति तथा विभागहरूलाई कुनै पनि भ्रममा नपरी सांगठनिक विस्तार तथा पार्टीको नीति–नियमअनुसारका गतिविधि तीव्रताका साथ अघि बढाउन निर्देशन दिएको छ। साथै, सर्वसाधारण तथा पार्टी सदस्यहरूलाई आधिकारिक माध्यमबाट आउने सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ।
समितिले अन्त्यमा भ्रमपूर्ण हल्ला र अफवाहबाट टाढा रहँदै संगठनलाई थप मजबुत बनाउन सबै पक्षसँग सहयोगको अपेक्षा समेत व्यक्त गरेको छ।