हावाहुरी र वर्षाबाट भएको क्षतिको विवरण संकलन गर्न सिम्रौनगढ नगरपालिकाको निर्देशन

बारा, १० चैत

सिम्रौनगढ नगरपालिकाले हालै आएको हावाहुरी तथा वर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ। नगरपालिकाले औपचारिक पत्र जारी गर्दै कृषिजन्य बाली तथा अन्य सम्पत्तिमा भएको नोक्सानीको यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

नगरपालिकाका अनुसार चैत ६ र ७ गते आएको हावाहुरी र वर्षाले विभिन्न स्थानमा बाली तथा कृषिजन्य उत्पादनमा क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको छ। सोही आधारमा वास्तविक क्षतिको तथ्यांक संकलन गर्न सम्बन्धित वडा कार्यालयहरूलाई निर्देशन दिइएको जनाइएको छ।

जारी सूचनामा वडा कार्यालयहरूलाई क्षतिग्रस्त बाली वा वस्तुको प्रकार, प्रभावित क्षेत्रफल, क्षतिको प्रकृति तथा अनुमानित आर्थिक नोक्सानीसम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गरी तोकिएको ढाँचामा प्रतिवेदन पेश गर्न भनिएको छ। उक्त विवरण ७ दिनभित्र नगरपालिकामा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

नगरपालिकाले संकलित तथ्यांकका आधारमा आगामी राहत तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन र क्षतिको यथार्थ मूल्याङ्कन गर्न यस अभियानलाई महत्वपूर्ण रूपमा लिइएको छ।

उक्त पत्र प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर साह लहेराको हस्ताक्षरमा सार्वजनिक गरीएको छ। भने नगरपालिकाले सबै सरोकारवालालाई समन्वय र सहयोग गर्न समेत आग्रह गरेको छ।

Comments (0)
Add Comment