कलैया, १० चैत
बाराको मनहर्वा–५ श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजबाट निस्किरहेको फोहोरको अनियन्त्रित विसर्जनले आसपासका गाउँहरूमा गम्भीर वातावरणीय तथा स्वास्थ्य संकट उत्पन्न भएको स्थानीयले आरोप लगाएका छन्। उद्योगले वातावरणीय मापदण्डको खुलेआम उल्लङ्घन गरिरहेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
उखु क्रसिङको क्रममा निस्किने कालो, दुर्गन्धयुक्त तरल फोहोर सिधै बंगरी नदीमा मिसाइँदा पानी पूर्ण रूपमा प्रदूषित भएको स्थानीयको दाबी छ। यसले खानेपानीका स्रोत मात्र नभई सिँचाइ प्रणालीसमेत प्रभावित पारेको उनीहरूको भनाइ छ। खेतमा पुग्ने दूषित पानीका कारण बाली सुक्ने, माटोको उर्वराशक्ति घट्ने र उत्पादनमा उल्लेखनीय गिरावट देखिन थालेको किसानहरू बताउँछन्।
त्यस्तै, उखु प्रशोधनपछि बाँकी रहने खोइ (बगास), माटो र अन्य ठोस फोहोर खुला क्षेत्रमा जथाभावी थुपारिँदा तीव्र दुर्गन्ध फैलिनुका साथै झिँगा र लामखुट्टेको प्रकोप बढेको स्थानीयको आरोप छ। यसले छाला रोग, श्वासप्रश्वास समस्या र अन्य स्वास्थ्य जोखिम बढाइरहेको बासिन्दाहरूले बताएका छन्।
वातावरणविद्हरूका अनुसार उखु उद्योगले अनिवार्य रूपमा फोहोर प्रशोधन केन्द्र (ETP) सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि रिलायन्स सुगर उद्योगले प्रभावकारी रूपमा त्यसको पालना नगरेको देखिन्छ। अनुगमन र कार्यान्वयन पक्ष कमजोर हुँदा प्रदूषण नियन्त्रण कागजमै सीमित भएको आरोप छ।
यसबीच उद्योग प्रशासनले भने प्रदूषण नियन्त्रण प्रयास भइरहेको दाबी गरेको छ। उद्योगका वरिष्ठ प्रशासनिक अधिकृत रामनारायण यादवले नेपाल सरकारको मापदण्डअनुसार सञ्चालन गरिएको बताए पनि पूर्ण रूपमा नियन्त्रण सम्भव नभएको स्वीकार गरेका छन्। उनले उद्योगबाट दुर्गन्ध नफैलिएको दाबीसमेत गरेका छन्।
यता स्थानीयहरूले उद्योगको दाबीलाई अस्वीकार गर्दै वास्तविकता फरक रहेको बताएका छन्। उनीहरूका अनुसार उद्योगले फोहोरलाई ‘ट्याङ्क हाउस’मा प्रशोधन गरी बंगरी खोलामा विसर्जन गर्ने भनिए पनि व्यवहारमा त्यसको पालना नगरी सिधै नदीमा फाल्ने गरिएको छ।
स्थानीय समुदायले सम्बन्धित निकायसँग तत्काल प्रभावकारी अनुगमन, वातावरणीय मापदण्डको कडाइका साथ कार्यान्वयन, फोहोर प्रशोधन प्रणाली सुधार तथा उल्लङ्घन गर्ने उद्योगमाथि कडा कारबाहीको माग गरेका छन्।
यदि तत्काल नियन्त्रण र निगरानी नबढाइएमा यो अवस्था दीर्घकालीन वातावरणीय संकटमा रूपान्तरण हुने खतरा बढ्दै गएको स्थानीयको चेतावनी छ।