बारा/पर्सा, ११ चैत
विश्व क्षयरोग दिवसका अवसरमा बाराको कलैयामा प्रभातफेरीसहित विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। स्वास्थ्य कार्यालय बारा र बागमती सेवा समाज नेपाल, सर्लाहीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कलैयास्थित स्वास्थ्य कार्यालयबाट बिहान निकालिएको प्रभातफेरी “हो, हामी क्षयरोग अन्त्य गर्छौं”, “दुई हप्ते खोकी क्षयरोगको संकेत”, “क्षयरोगलाई नलुकाऔं, औषधि खाए निको हुन्छ” लगायतका नारासहित अस्पताल रोड हुँदै भरत चोक परिक्रमा गरी पुनः स्वास्थ्य कार्यालयमै पुगेर सम्पन्न भएको थियो।
प्रभातफेरीपछि आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतनारायण पण्डितले क्षयरोग निको हुने रोग भएकाले डराउन नपर्ने बताए। उनले चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने जानकारी दिए।
त्यस्तै, बागमती सेवा समाज नेपालका बारा जिल्ला क्षयरोग कार्यक्रम संयोजक बिहारी प्रसाद कुशवाहाले क्षयरोगका लक्षणबारे जानकारी दिँदै दुई हप्ताभन्दा बढी लगातार खोकी लाग्नु, ज्वरो आउनु, तौल घट्नु, खान मन नलाग्नु तथा साँझपख पसिना आउने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरे।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका क्षयरोग फोकल पर्सन भागीरथ चौधरी, ल्याब प्रमुख रामबिश्वास साह, प्रादेशिक अस्पताल कलैयाका प्रमुख डा. अजय कुमार गुप्ता लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।
उता पर्सामा पनि विश्व क्षयरोग दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। नेपाल क्षयरोग निवारण संस्था (NATA) पर्सा जिल्ला शाखाको आयोजनामा बहुदरमाई नगरपालिका–४ स्थित डोकैला बहुवरी गाउँको गढीमाई बोर्डिङ स्कुल परिसरमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रम संस्थाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष प्रमोद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका सचिव शम्भु प्रसाद चौरसिया, कोषाध्यक्ष उमेश कुमार साह कानु, विद्यालयका प्रधानाध्यापक अरमेन्द्र प्रसाद यादव, शिक्षक अजय यादव तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
वक्ताहरूले क्षयरोगबारे जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्दै समयमै परीक्षण र नियमित औषधि सेवन गरे रोग पूर्ण रूपमा निको हुने बताए। साथै, सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराइरहेको जानकारी दिँदै ढिलाइ नगरी उपचार गर्न सबैलाई आग्रह गरिएको थियो।विश्व क्षयरोग दिवस प्रत्येक वर्ष मार्च २४ तारिखमा मनाइन्छ।