रौतहटमा पशु खोप अभियान तीव्र: ७५ हजार पशुलाई खोरेत विरुद्धको खोप लगाइँदै

रौतहट , ११ चैत

पशुपन्छीमा फैलिने संक्रामक रोग नियन्त्रण गरी पशु उत्पादन वृद्धि गर्ने उद्देश्यले रौतहट जिल्लामा खोप अभियानलाई तीव्र पारिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहटको आयोजना र जिल्लाका १८ वटै स्थानीय तहको समन्वयमा यो विशेष अभियान सञ्चालन गरिएको हो।

कार्यालयका अनुसार चैत ७ गतेदेखि १३ गतेसम्म खोप सप्ताह सञ्चालन भइरहेको छ। यस अवधिमा जिल्लाका सबै पालिकामा पुगेर पशुपन्छीमा देखिने प्रमुख संक्रामक रोगहरू विरुद्ध खोप लगाउने लक्ष्य राखिएको छ।

अभियानको मुख्य प्राथमिकताहरू यस प्रकार छन्:

खोरेत (FMD) विरुद्ध: गाई, भैंसी, पाडापाडी, र बङ्गुर/सुँगुरलाई खोप लगाइँदै।

पिपिआर विरुद्ध: बाख्रा, भेडा र पाठापाठीमा खोप लगाउने तयारी।

जनशक्ति परिचालन: जिल्लाभर ८७ जना भ्याक्सिनेटरहरू खटाइएको छ।

पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्दु राय यादवका अनुसार प्रारम्भिक चरणमा करिब ७५ हजार पशमा खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म करिब ३५ प्रतिशत प्रगति हासिल भइसकेको छ। बाँकी अवधिमा अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाइने उनले बताए।

केही पालिकामा स्रोत र जनशक्तिको कमी चुनौतीका रूपमा देखिए पनि हामी लक्ष्य हासिल गर्न सक्रिय छौँ, प्रमुख यादवले भने। हाल खोरेत विरुद्धको खोपलाई प्राथमिकता दिइएको छ यो सकिएलगत्तै जिल्लाभरका करिब २ लाख भन्दा माथिको बाख्रालाई

पिपिआर खोप लगाउने योजना रहेको छ।

पुर्ण खोपका लागि जिल्लामा पर्याप्त बजेट विनियोजन गरिएको भए तापनि रकम अपुग रकम माग भएको न आएको खण्डमा स्थानीय तहहरूसँग समन्वय गरी थप बजेट व्यवस्थापन गरिने कार्यालयले जनाए । खोरेत रोगका कारण पशुको उत्पादन क्षमता घट्ने र आर्थिक क्षति हुने भएकाले यो अभियान कृषकका लागि बरदान साबित हुने अपेक्षा गरिएको छ।

खोप लगाएपछि पशुमा सामान्य ज्वरो आउने वा खोप लगाएको ठाउँमा हल्का सुन्निने जस्ता सामान्य असर देखिन सक्ने तर यसबाट नडराउन प्रमुख यादवले आग्रह गरे। यस्ता सामान्य लक्षणहरू केही समयपछि स्वतः निको हुने र यसले दीर्घकालीन रूपमा पशुलाई महामारीबाट बचाउने प्राविधिकहरूको भनाइ छ।

ग्रामीण भेगमा पशुपालन नै मुख्य आयस्रोत रहेकाले यस्ता अभियानले दुग्ध र मासु उत्पादनमा सुधार ल्याई कृषकको जीवनस्तर उकास्ने विश्वास गरिएको छ। अभियानलाई सफल बनाउन स्थानीय तह सरोकारवाला निकाय र कृषकहरूबीचको आपसी सहकार्य अनिवार्य देखिएको छ।

Comments (0)
Add Comment