पर्सा, ११चैत
पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार छापामारी गरी अनियमिततासम्बन्धी अनुसन्धान सुरु गरेको छ।
हेटौंडास्थित आयोग कार्यालयबाट खटिएको टोलीले नगरपालिकाभित्र देखिएको बेथिति र उजुरीका आधारमा छापा मारेको हो। टोलीले विशेषगरी जिन्सी शाखामा केन्द्रित भई कागजातहरूको जाँचबुझ गरेको जनाएको छ।
जाँचका क्रममा शाखामा अधिकांश कागजातहरू बिल भुक्तानीसँग सम्बन्धित भेटिए पनि अभिलेखमा रहनुपर्ने अन्य सामग्री कार्यालयमा नभई मेयर तथा केही कर्मचारीको घरमा फेला परेको स्रोतको दाबी छ। यसले नगरपालिकाको वित्तीय पारदर्शिता र सामग्री व्यवस्थापनमाथि प्रश्न उठाएको छ।
अख्तियारको टोलीले आवश्यक नाप–जाँच तथा कागजात संकलन गरी सुरक्षित राखेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनापछि स्थानीयवासी तथा सरोकारवालाले नगरपालिकामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न कडा कदम चाल्नुपर्नेमा जोड दिएका छन्। अख्तियारको अनुसन्धानबाट वास्तविकता सार्वजनिक हुने र दोषी पहिचान हुने अपेक्षा गरिएको छ।