फेटा गाउँपालिकामा अख्तियारको “छापा” होइन अनुगमन मात्रै, गलत प्रचार भएको स्पष्टोक्ति

बारा, १० चैत

बाराको फेटा गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको भन्ने सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको खबर पूर्ण रूपमा गलत भएको तथ्य बाहिर आएको छ। वास्तविक रूपमा उक्त टोलीले अनुगमन तथा स्थलगत अध्ययन मात्र गरेको गाउँपालिका स्रोतले स्पष्ट पारेको छ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयबाट आएको टोलीले आर्थिक वर्ष २०७८/७९ मा फेटा गाउँपालिका वडा नं. ७ मा सञ्चालन गरिएको भाडा, बर्तन तथा झुल वितरण कार्यक्रमको सम्बन्धमा कागजात तथा विवरणहरूको अनुगमन गरेको थियो।

गाउँपालिकाका अनुसार टोलीको उद्देश्य कार्यक्रमको खर्च विवरण, लाभग्राही छनोट प्रक्रिया, वितरण प्रणाली तथा अभिलेख व्यवस्थापनको स्थलगत अध्ययन गर्नु मात्र रहेको थियो। तर सोही अनुगमनलाई केही व्यक्तिहरूले “अख्तियारको छापा” भन्दै गलत ढंगले प्रचार गरेको आरोप लगाइएको छ।

कार्यालय स्रोतका अनुसार अनुगमनमा संलग्न टोलीले सम्बन्धित शाखाबाट आवश्यक कागजातहरू माग गरी विवरण संकलन गरेको थियो। तर कुनै पनि प्रकारको छापा, नियन्त्रण वा कारबाही जस्तो कार्य नभएको स्पष्ट गरिएको छ।

स्रोतले केही व्यक्तिहरूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएको कारण बिना आधार गाउँपालिकाको छवि धुमिल पार्ने उद्देश्यले गलत सूचना फैलाएको दाबी गरेको छ। यस्ता भ्रामक प्रचारले सार्वजनिक संस्थामाथि अनावश्यक शंका उत्पन्न हुने र प्रशासनिक कार्यसम्पादनमा समेत असर पर्ने गाउँपालिकाको भनाइ छ।

गाउँपालिकाले पनि आधिकारिक रूपमा अनुगमन र छापा दुई फरक प्रक्रिया भएको स्पष्ट पार्दै सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेको छ। साथै, सत्य तथ्य नबुझी गरिने सामाजिक सञ्जालका प्रचारप्रति सचेत रहन समेत अनुरोध गरिएको छ।

Comments (0)
Add Comment