प्रचण्ड गर्मीले मधेस प्रदेशको जनजीवन प्रभावित, रौतहटसहित आठै जिल्लाका मुख्य सडक सुनसान
शु.आ. सम्बाददाता
रौतहट , ०१ आसाढ
मधेस प्रदेशमा जारी प्रचण्ड गर्मीले जनजीवन प्रभावित बनाएको छ। तापक्रम अत्यधिक बढेसँगै प्रदेशका आठै जिल्लामा विशेषगरी दिउँसोको समयमा मुख्य सडकहरू सुनसान देखिएका छन्। अत्यावश्यक कामबाहेक मानिसहरू घर बाहिर ननिस्कने अवस्था आएको छ। रौतहटसहितका विभिन्न जिल्लाहरूमा जनस्वास्थ्य, यातायात, दैनिक क्रियाकलाप र जलस्रोतहरूमासमेत यसको गम्भीर असर परेको छ।
रौतहट जिल्लाको गौर, चन्द्रनिगाहपुर, कटहरिया, गरुडा, इशनाथ , बन्कुल , मौलापुर लगायतका शहरी तथा ग्रामीण क्षेत्रका सडकहरूमा मानिसहरूको आवतजावतमा तीव्र कमी देखिएको छ। तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुगेको र हावा समेत चल्न नछाड्दा गर्मी झनै असह्य बनेको स्थानीयको गुनासो छ।
गर्मीका कारण कतिपय गाउँमा प्रयोग हुँदै आएका चापाकल (हातेपम्प) र हाथे कलहरू सुक्न थालेका छन्। रौतहटको केहि क्षेत्रका , लक्ष्मीपुर, बन्कुल , तेजापाकड , महमदपुर , गौर जस्ता गाउँहरूमा पम्प गरिने पानीको सतह निकै तल झरेको छ, जसका कारण दैनिक उपभोग्य पानी लिनसमेत स्थानीयलाई मुस्किल परेको छ।
“पानी तान्दा घण्टौं लाग्छ, त्यो पनि थोरै आउँछ,” परोहा नगरपालिका–७ का एक वृद्धले भने, “बिहान–साँझको कामका लागि धेरैपटक प्रयास गर्नुपर्छ, एकैचोटि पर्याप्त पानी आउँदैन।”
शरीरको पसीना पनि नसुकेका बेला, पिउने पानीको अभावले स्वास्थ्य समस्या थपिने जोखिम उच्च भएको जनस्वास्थ्यकर्मीहरूको चेतावनी छ।
गर्मीका कारण विद्यालयहरूमा समेत उपस्थिति कम देखिन थालेको छ। कतिपय विद्यालयले मध्याह्नको पठनपाठन स्थगित गर्न थालेका छन् भने कतिपयले अत्यावश्यक अवस्थामा मात्रै सञ्चालन गरिरहेका छन्। विद्यार्थी र अभिभावक दुवैले गर्मीका कारण स्वास्थ्यमा असर पर्ने डर व्यक्त गरेका छन्।
यस्तै, बजारहरूमा पनि बिहान र साँझ बाहेकको समयमा ग्राहकको उपस्थिति कम देखिएको छ। फलफूल, तरकारी तथा दैनिक उपभोग्य सामान किनमेल गर्न मानिसहरू बिहानै बजार धाउने गरेका छन्।
गर्मीका कारण ज्वरो, घाम लाग्ने (सन स्ट्रोक), अपच, डिहाइड्रेसनजस्ता समस्याहरू बढ्दै गएका छन्। जिल्ला अस्पताल गौरका अनुसार, पछिल्लो एक हप्तामा अत्यधिक गर्मीका कारण प्रभावित भएर उपचार लिन आउनेको सङ्ख्या दोब्बर बढेको छ।
“खासगरी वृद्ध, बालबालिका र महिला बढी प्रभावित भएका छन्,” एक स्वास्थ्यकर्मीले बताए। “गर्मीमा पानी प्रशस्त पिउन, धूपमा लामो समय नबस्न र हल्का खाना खान सुझाव दिएका छौं।”
यस्तो बेला स्थानीय सरकारको तयारी भने अत्यन्तै कमजोर देखिएको छ। न खानेपानीको आपतकालीन व्यवस्था गरिएको छ, न शीतल स्थल वा प्राथमिक उपचार सेवा सहज बनाइएको छ। कतिपय पालिकामा स्वास्थ्यकर्मीको उपस्थिति नै नभएको स्थानीयले गुनासो गरेका छन्।
विशेषज्ञहरूका अनुसार, पछिल्ला वर्षहरूमा मधेस प्रदेशमा गर्मीको अवधि लम्बिएको, तापक्रम नयाँ रेकर्डमा पुगेको र सुक्खा प्रभाव गहिरिँदै गएको देखिन्छ। यो अवस्था जलवायु परिवर्तनसँग जोडिएको बताउँदै मौसम विज्ञहरूले दीर्घकालीन योजना निर्माण गर्न आग्रह गरेका छन्।
गर्मीबाट बच्न स्वास्थ्य मन्त्रालयले नागरिकलाई दिउँसोको समयमा घरमै बस्न, हल्का कपडा लगाउन, प्रशस्त पानी पिउन, घाममा नहिँड्न, छायाँयुक्त स्थानमा बस्न र आवश्यक परेमा चिकित्सकको सल्लाह लिन सुझाव दिएको छ।
सरकार र स्थानीय तहहरूले स्वच्छ खानेपानीको आपूर्ति, स्वास्थ्य सेवा सुदृढीकरण र जनचेतना कार्यक्रमलाई तीव्रता नदिएमा आगामी दिनहरूमा स्थिति झनै भयावह बन्न सक्ने संकेत देखिएको छ।
प्रचण्ड गर्मीको यो चपेटामा परेका मधेसवासीको पीडा तत्काल सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण अत्यावश्यक देखिएको छ।