रौतहट , १४ चैत
नेपाल नेत्रज्योति संघको ४८औँ वार्षिकोत्सव शुक्रबार देशभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको छ। यसै सन्दर्भमा रौतहटमा पनि “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी – आँखा सेवामा साझेदारी” भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरी यो दिवस मनाइएको हो।
नेपाल नेत्रज्योति संघ रौतहट शाखाद्वारा सञ्चालित गौर आँखा अस्पताल, पुरेनवाको सक्रियतामा आयोजित उक्त कार्यक्रम प्रभातफेरीसहित सम्पन्न भएको छ।
बिहान निकालिएको प्रभातफेरी गौरस्थित बीपी चोक घण्टाघरबाट प्रारम्भ भएको थियो। सर्वसाधारणमा आँखा स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले आयोजित उक्त र्याली नगरको मुख्य भाग क्रान्ति चोक हुँदै राइस मिल क्षेत्रमा पुगेर औपचारिक सभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले आँखाको हेरचाह र उपचारमा सबैको हातेमालो आवश्यक रहेको सन्देश प्रवाह गरेका थिए।
मरणोपरान्त आँखा दानको अठोट
कार्यक्रमको सबैभन्दा प्रभावकारी पक्ष नेपाल नेत्रज्योति संघ रौतहट शाखाका पूर्व सभापति दुर्गा प्रसाद यादवको घोषणा रह्यो। उनले आफ्नो मृत्युपश्चात् दुवै आँखा दान गर्ने मानवीय निर्णय सार्वजनिक गर्दै समाजलाई नयाँ सन्देश दिएका छन्। उनको यो कदमले अन्धोपन निवारण अभियानमा ठुलो ऊर्जा थप्ने विश्वास गरिएको छ।
अस्पतालका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आँखा स्वास्थ्य सेवाको पहुँच र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। कार्यक्रममा बच्चा प्रसाद यादव सचिव, नेपाल नेत्रज्योति संघ रौतहट शाखा डा. मनोज कुमार साह: वरिष्ठ नेत्र रोग विशेषज्ञ ,नागेश्वर प्रसाद चौधरी: अस्पताल प्रशासक
मदन चौधरी: दृष्टि विशेषज्ञ , शिव कुमार यादव र पूनम यादव: नेत्र अधिकृत सहभागी रहेका थिए ।
कार्यक्रममा अस्पतालका कर्मचारी, पदाधिकारी, सञ्चारकर्मी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको ठुलो संख्यामा सहभागिता रहेको थियो।
अस्पतालका संयोजक सत्येन्द्र पाण्डेयले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै रौतहट जिल्ला र आसपासका क्षेत्रमा गुणस्तरीय आँखा उपचार सेवा पुर्याउन अस्पताल कटिबद्ध रहेको बताए । ४८ वर्षको गौरवमय यात्रा पूरा गरेको नेत्रज्योति संघले आगामी दिनमा अझै प्रविधिमैत्री र सुलभ सेवा विस्तार गर्ने लक्ष्य राखेको छ।