गौरमा भव्य श्रीराम नवमी शोभायात्रा: हजारौँको सहभागिता, भक्तिमय बन्यो सदरमुकाम

रौतहट , १४ चैत

असत्यमाथि सत्यको विजयको प्रतीक एवं त्रेता युगका मर्यादापुरुषोत्तम भगवान् श्रीरामको जन्मजयन्ती राम नवमीको अवसरमा शुक्रबार रौतहटको सदरमुकाम गौरमा विशाल शोभायात्रा सम्पन्न भएको छ। श्री राम नवमी उत्सव समिति गौरको आयोजनामा निकालिएको उक्त शोभायात्रामा हजारौँ श्रद्धालु भक्तजन तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। गौरस्थित ऐतिहासिक राइस मिलको प्राङ्गणबाट विधिवत् रूपमा सुरु भएको शोभायात्राले गौर नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। जय श्रीरामको जयघोष र भजन कीर्तन सहित निकालिएको उक्त यात्रा भंन्सार क्षेत्र हुँदै नगरको मुख्य केन्द्र घन्टाघरसम्म पुगेको थियो। शोभायात्राका क्रममा सहभागी युवाहरूले भगवा झण्डा बोकेर नगरलाई भक्तिमय बनाएका थिए।

उत्सवलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटले गौरले सुरक्षा व्यवस्था अत्यन्त चुस्त बनाएको थियो। ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उक्त शोभायात्रामा विशेष गरी युवाहरूको उपस्थिति उल्लेखनीय देखिन्थ्यो। युवाहरूले अनुशासित रूपमा पदयात्रा गर्दै धार्मिक सहिष्णुता र एकताको सन्देश दिएका थिए। नगर परिक्रमा पश्चात् शोभायात्रा गौर ५ स्थित अदालत रोडमा रहेको श्री राम मन्दिरमा पुगेर विसर्जन भएको थियो। शोभायात्रा समापन पछि मन्दिर परिसरमा भव्य भजन जागरण कार्यक्रम आयोजना गरिएको थियो। सो अवसरमा उपस्थित सम्पूर्ण भक्तजनहरूका लागि महाप्रसादको समेत व्यवस्था गरिएको आयोजक श्री राम नवमी उत्सव समितिले जनाए ।

आयोजक समितिका प्रतिनिधिहरूले यस पवित्र दिनले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। भगवान् रामको जीवनबाट प्रेरणा लिँदै हामी सबैले सत्य, धर्म, मर्यादा र सदाचारको मार्गमा अगाडि बढ्नुपर्छ भन्ने नै यस उत्सवको मुख्य उद्देश्य हो, समितिका एक सदस्यले बताए।

रौतहटको गौरमा हरेक वर्ष राम नवमी भव्यताका साथ मनाइने गरिए तापनि यस वर्षको विशाल उपस्थिति र व्यवस्थित व्यवस्थापनले विशेष रौनक थपेको स्थानीय बासिन्दाहरूको भनाइ छ।

Comments (0)
Add Comment