गुदरी बजारमा अवैध कर असुलीको आरोप, परवानीपुर गाउँपालिकाद्वारा छानबिन प्रक्रिया अघि बढाइयो

बारा, १७ चैत

परवानीपुर गाउँपालिकाले गुदरी बजार क्षेत्रमा बहाल बिटौरी (बजार कर) को नाममा भइरहेको भनिएको अवैध असुलीबारे गम्भीर ध्यानाकर्षण जनाउँदै छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ। गाउँ कार्यपालिकाको कार्यालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ भित्र गुदरी बजारमा सेड निर्माणका लागि बजेट सुनिश्चित गरिएको थियो। सोहीअनुसार निर्माण कार्य अगाडि बढाउँदै बजार व्यवस्थापनका लागि बहाल बिटी कर संकलन गर्ने प्रक्रिया पनि अघि बढाइएको थियो। नियमअनुसार उक्त कर संकलन गरी संकलित रकम गाउँपालिकाको खातामा दाखिला गरिने व्यवस्था गरिएको थियो।

प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार सेड निर्माण कार्य सम्पन्न भई २०८२ पौष २० गतेदेखि सञ्चालनमा आएको थियो। त्यसअघि बजार क्षेत्रका व्यवसायीहरूलाई अस्थायी रूपमा अन्यत्र व्यवस्थापन गर्न सार्वजनिक सूचना समेत जारी गरिएको थियो। तर, केही व्यवसायीहरूले निर्देशनअनुसार स्थानान्तरण नगरेपछि बजार व्यवस्थापनमा चुनौती उत्पन्न भएको गाउँपालिकाले जनाएको छ।

यसबीच, गाउँपालिकाको अनुमति बिना गुदरी बजारको नाममा बहाल बिटौरी कर (कौडी) असुली भइरहेको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएपछि कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाले स्पष्ट पारेको छ कि आफ्नो जानकारी र स्वीकृति बिना कसैले पनि कर संकलन गर्ने अधिकार राख्दैन।

प्रमुख प्रशासकीय अधिकृत मुना साह रौनियार द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “गाउँपालिकाको नाममा कर असुली गर्ने व्यक्तिहरूको पहिचान गरी संकलित रकम यकिन गरिनेछ र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ।”

गाउँपालिकाले गुदरी बजारमा यसअघि कर असुलेका व्यक्तिहरूलाई समेत छानबिनको दायरामा ल्याउने र संकलित रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ। साथै, कुनै पनि प्रकारको अवैध कर असुली नगर्न र यस्तो गतिविधि देखेमा तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

यस घटनाले स्थानीय बजार व्यवस्थापनमा देखिएको कमजोरी र अनुगमन अभावलाई उजागर गरेको छ। व्यवसायीहरू भने स्पष्ट नीति र पारदर्शी प्रणालीको माग गर्दै आएका छन्। गाउँपालिकाको यो कदमले अवैध कर असुली नियन्त्रणमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Comments (0)
Add Comment