रौतहट, १७ चैत
नेपाल-भारत खुल्ला सीमानाको फाइदा उठाउँदै छिमेकी मुलुक भारतबाट अवैध रूपमा कुखुरा भित्रिने क्रम नरोकिँदा नेपाली किसान र व्यवसायीहरू गम्भीर संकटमा परेका छन्। स्वदेशी पोल्ट्री व्यवसायलाई धराशायी बनाउने गरी भइरहेको तस्करी विरुद्ध स्थानीय प्रशासन र व्यवसायीहरूले सक्रियता बढाएका छन्।
यसै सिलसिलामा सोमबार बिहान जिल्लाको दुर्गा भगवती गाउँपालिका-३ मत्सरी क्षेत्रबाट ठूलो परिमाणमा अवैध भारतीय बोइलर कुखुरा लोड गरिएको एक पिकअप भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ।
रौतहट कुखुरा व्यवसायी संघको विशेष सुराकी र समन्वयमा इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले गौर-गंगापिपरा सडक खण्डमा थापेको एम्बुसमा उक्त गाडी परेको हो। सोमबार बिहान करिब ७ बजे दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा जाँदै गरेको ना.५ च. ३५६५ नम्बरको बोलेरो पिकअपलाई शंका लागि चेकजाँच गर्दा उक्त अवैध भण्डार फेला परेको थियो।
प्रहरीका अनुसार उक्त गाडीमा ३५० थान करिब ७५० केजी भारतीय बोइलर कुखुरा फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कुखुराहरू राजपुर नगरपालिका–५ स्थित मुस्कान पोल्ट्री फर्मबाट लोड गरी गरुडा नगरपालिका–९ तर्फ लैजाँदै गरेको खुलेको छ।
प्रहरीले गाडी चालक गरुडा नगरपालिका–९ का २६ वर्षीय अनवारुल हकलाई नियन्त्रणमा लिएको छ। बरामद कुखुरा चालक र गाडीलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर पठाइएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाए।
घटनाले सीमा क्षेत्रमा हुने सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठाएको छ। स्रोतका अनुसार राजपुरस्थित मुस्कान पोल्ट्री फर्मका सञ्चालक रामप्रवेश साहले लामो समयदेखि सीमापारीबाट अवैध रूपमा कुखुरा भित्र्याई आफ्नै फर्मको बिल प्रयोग गरेर बजारमा पठाउने गोरखधन्दा चलाउँदै आएको आरोप लागेको छ।
स्थानीय व्यवसायीहरूले सीमा नाकाबाट २० किलोमिटर भित्रसम्म तस्करीका गाडी सहजै आइपुग्नुमा सुरक्षाकर्मीको भूमिकामाथि आशंका व्यक्त गरेका छन्। ग्रामीण भेगका भित्री सडकहरू प्रयोग गरी हुने यस्तो अवैध कारोबारमा सुरक्षा निकायका केही युनिटहरूको मौन समर्थन वा सेटिङ हुन सक्ने आशंका व्यवसायीहरूले गरेका छन्।
नेपाली किसानहरू बैंकको ऋणमा डुबिरहेका छन्, तर तस्करहरूले भारतीय सस्तो र अस्वस्थ कुखुरा भित्र्याएर हाम्रो बजार ध्वस्त पारिरहेका छन्। सीमामै कडाइ गर्ने हो भने यस्तो समस्या आउने थिएन, एक स्थानीय व्यवसायीले आक्रोश पोखे।
सोही दिन प्रहरीले परोहा नगरपालिकास्थित जिङगढवा पुल नजिकबाट मोटरसाइकल बि आर ३० एच ६३९६ नं को मोटरसाइकल मार्फत कुखुरा ओसारपसार गरिरहेको अर्को समूह २ जनालाई पनि पक्राउ गरेको छ। जिल्ला कुखुरा व्यवसायी किसान संघको सूचनाको आधारमा गरिएको निगरानीपछि उनीहरूलाई समात्न सफल भएको प्रहरीको भनाइ छ।
बरामद गरिएका कुखुरा, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया र राजस्व चुहावट सम्बन्धी कारबाहीका लागि रौतहटस्थित भन्सार कार्यालयमा बुझाइएको छ। रौतहट कुखुरा व्यवसायी संघले आगामी दिनमा पनि यस्ता अवैध गतिविधि विरुद्धको निगरानीलाई झनै सशक्त बनाउने र प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।
अवैध चोरी पैठारीले राज्यको राजस्व गुम्नुका साथै स्वदेशी आत्मनिर्भर व्यवसायमा आघात पुगेको भन्दै सरोकारवालाहरूले सीमा क्षेत्रमा थप कडाइ गर्न माग गरेका छन्।