स्याउको कार्टुन भित्र आँप र लागुऔषध एम्पुल सहित दुई जना पक्राउ 

स्याउको कार्टुन भित्र आँप र लागुऔषध एम्पुल सहित दुई जना पक्राउ

 

शु.आ. सम्बाददाता

 

कलैया , ०७ साउन

 

स्याउको कार्टुन भित्र आँप र लागुऔषध एम्पुल सहित दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही जिल्लाको रामनगर गाउँपालिका १ धुर्वा टोल बस्ने अन्दाजी वर्ष २० को राजेश गुप्‍ता र बाराको जीतपुर सिमरा उपमहानगरपालिका-७ खडका टोल बस्ने अन्दाजी वर्ष २४ को नसिर अंसारी रहेका छन्।

 

मँगलबार दिउँसो प्रहरी चौकी कचोर्वाबाट प्रहरी नायब निरीक्षक सोम प्रसाद रिमालको कमाण्डमा खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका -९ पिठवाबाट दुबै जनालाई लागुऔषध एम्पुल सहित पक्राउ गरेको छ।

भारतबाट नेपाल तर्फ गुप्ताले चलाई आउँदै गरेको ज ८ प ५४२१ नम्बरको मोटरसाईकल शंकास्पद लागी रोकी चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार अँसारीले बिचमा बोकेको स्याउको २ वटा कार्टुन भित्र आँप सहित लागुऔषध एम्पुल ४ हजार ८ सय पिस सहित पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

 

प्रहरीको अनुसार उनीहरुबाट नोफिन एक हजार ६ सय पिस ,फेनारगन एक हजार ६ सय पिस र डाईजोपाम एक हजार ६ सय पिस गरी जम्मा ४ हजार ८ सय पिस बरामद गरीएको छ। मोटरसाइकल सहित दुबै जनालाई लागु औषध एम्पुल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी प्रहरी प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले दिएका छन्।

Comments (0)
Add Comment