सुवर्ण गाउँपालिका अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघ जिल्ला, प्रदेश र सँघको आपत्ति

सुवर्ण गाउँपालिका अध्यक्षको अभिव्यक्तिप्रति पत्रकार महासंघ जिल्ला, प्रदेश र सँघको आपत्ति

 

शु.आ. सम्बाददाता

 

कलैया, ०७ साउन

 

सुवर्ण गाउँपालिकाको अध्यक्ष राजेश यादवको अभिव्यक्तिप्रति पत्रकार महासंघ जिल्ला, प्रदेश र सँघले आपत्ति जनाएको छ।

 

तिनै तहको पत्रकार महासंघले बुधबार आ-आफ्नो प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवको अभिव्यक्ति प्रति आपति जनाएको छ। साथै अध्यक्ष यादवले तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ । अन्यथा थप कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

 

नेपाल पत्रकार महासंघ, बारा शाखाका अध्यक्ष रमेश सुवेदी द्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार साउन ६ गते मंगलबार दिउँसो मोटरसाइकलमा सवार एक युवकले अध्यक्ष यादव चढेको स्कारपियोको चक्कामा ठोक्किएर टायर पञ्चर बनाएको निहुँमा अध्यक्ष यादवले ती युवकलाई गालीगलौज र दुर्व्यवहार गरेको उल्लेख गरेको छ ।

 

साथै उक्त घटनाबारे पत्रकारहरूले समाचार लेखेकै आधारमा अध्यक्ष यादवले सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिले समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने प्रयास गरेको महासंघको भनाइ छ।

 

जिल्लाको विज्ञप्तिमा अध्यक्षको यस प्रकारको अभिव्यक्तिले सञ्चारकर्मीहरूको मनोबल कमजोर हुनुका साथै डर, त्रासको सिर्जना भई निष्पक्ष र भयरहित रूपमा समाचार सम्प्रेषण गर्न समस्या उत्पन्न भएको छ। उल्लेख छ।समाचारको विषयमा चित्त नबुझेमा कानुनी उपचार खोज्ने निकाय हुँदाहुँदै अध्यक्ष यादवले लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई समेत आत्मसात नगरी पत्रकार र पत्रकारितालाई बदनाम गराउने अभिव्यक्ति दिएको तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेको महासंघले आरोप लगाएको छ।

 

बारा शाखाले अध्यक्ष यादवलाई पत्रकारहरूमाथि बेबुनियादी, आधारहीन र अपमानजनक आरोप लगाएको भन्दै आपत्ति जनाएको छ। आफ्नो स्वार्थ सिद्ध गर्नका लागि सञ्चार माध्यममा आएको समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गराउने कार्यमा संलग्न हुनु पत्रकारिताको सम्मानमाथिको हमला भएको विज्ञप्तिमा उल्लेख छ।

 

“आर्थिक लाभका लागि कुन पत्रकारले कहिले, कहाँ पैसा, तेल माग्ने काम गर्यो? यदि ती कुरामा सत्यता छ वा त्यसका आधार, प्रमाण छ भने सार्वजनिक गर्न अध्यक्ष यादवसँग जोडदार माग समेत विज्ञप्तिमार्फत गरीएको छ।

 

पेशागत मर्यादामाथि प्रश्न उठाउने अध्यक्ष यादवको कामको कडा रूपमा भर्त्सना गर्दै महासंघले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराहरू तत्काल फिर्ता लिई माफी माग्न आग्रह गरेको छ। फिर्ता नलिएमा महासंघ आगामी कदम सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

 

यसैबीच, नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले पनि बाराका सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादवको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ द्वारा जारी प्रेस विज्ञप्तिमा बारा शाखाले उपलब्ध गराएको जानकारीअनुसार, अध्यक्ष यादवले सामाजिक सञ्जालमा पत्रकारहरूमाथि निराधार आक्षेप लगाउँदै अपमानजनक टिप्पणी गरी समग्र पत्रकारिता पेशामाथि नै धावा बोल्ने प्रयास गरेको उल्लेख छ।

 

“समाचारप्रति असहमति जनाउने कानुनी बाटो खुला हुँदाहुँदै सार्वजनिक पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा यस्तो गैरजिम्मेवार तथा अपमानजनक अभिव्यक्ति दिनु निन्दनीय मात्र होइन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण पनि हो,” विज्ञप्तिमा भनिएको छ। मधेश प्रदेश समितिले यस कार्यको घोर भर्त्सना गर्दै अध्यक्ष यादवलाई सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति तत्काल फिर्ता लिई आत्मसमीक्षा गर्न आग्रह गरेको छ।

 

दुवै विज्ञप्तिमा पछिल्लो समय पत्रकारिता पेशालाई अमर्यादित बनाउने खालका गतिविधिहरू केही व्यक्ति वा समूहद्वारा हुने गरेको र सञ्चार माध्यममा आइसकेको समाचारलाई अर्को सञ्चार माध्यमबाट खण्डन गर्ने/गराउने भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसो नगर्न/नगराउन सबै पत्रकार र सञ्चार माध्यमका प्रकाशक, सम्पादकहरूलाई आग्रह गरिएको छ।

 

 

त्यस्तै पत्रकार महासंघ केन्द्रीय कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवको अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी रहेको बताएको छ।

 

महासंघको बारा शाखाले दिएको जानकारीअनुसार, यही साउन ६ गते मंगलबार अध्यक्ष यादव सम्बन्धित समाचार प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमा पत्रकारलाई बदनाम र अपमानित गराउने खालका धारणा व्यक्त गरेका थिए।

 

विज्ञप्तिमा भनिएको छ, “प्रकाशित समाचारप्रति गुनासो भए कानुनी या विधिसम्मत प्रक्रियामा जान सकिनेमा सो नगरी सार्वजनिक पदधारी व्यक्तिबाट प्रेस स्वतन्त्रता विरोधी कार्य भएकोमा महासंघ आपत्ति प्रकट गरीएको छ।”

 

नेपाल पत्रकार महासंघले पत्रकारलाई धम्क्याउनेमाथि कानुनबमोजिम कारबाही गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

 

महासंघका महासचिव रामप्रसाद दाहाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता घटनाले पत्रकारिता पेशाको मर्यादामाथि आँच पुर्‍याउने उल्लेख छ।

Comments (0)
Add Comment