मधेशसमाचार

एसईई विद्यार्थीलाई टी–सर्ट, डायरी र कलमसहित जगरनाथपुर गाउँपालिकाद्वारा विदाई

राजन कुमार बानियाँ

पर्सा , ०९ चैत

जगरनाथपुर गाउँपालिका ले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन लागेका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप शैक्षिक सामग्री वितरण गर्दै औपचारिक विदाई गरेको छ।

गाउँपालिकाको शिक्षा शाखाद्वारा आइतबार वडा नं.–४ सण्ठीस्थित विद्यालयमा आयोजित कार्यक्रममा पालिकाभित्रका तीनवटा माध्यमिक विद्यालयका एसईई परीक्षार्थी करिब १ सय २० जना छात्र–छात्रालाई टी–सर्ट, डायरी र कलम प्रदान गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव ले पालिकाको लोगो अंकित सामग्री वितरण गर्दै आगामी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफलताको शुभकामना व्यक्त गरे। उनले एसईईपछि उच्च शिक्षामा अगाडि बढ्दा कुनै समस्या आएमा आफू वा प्रमुख प्रशासकीय अधिकृतमार्फत आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए।

त्यस्तै, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव लगायतले विद्यार्थीहरूलाई खादा तथा माला लगाएर विदाई गरेका थिए।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहका अनुसार कार्यक्रममा शिक्षा समितिका सदस्य, वडा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थानीय तहले विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले गरेको यस पहललाई अभिभावक तथा सरोकारवालाहरूले सकारात्मक रूपमा लिएका छन्। यस्तो प्रोत्साहनले विद्यार्थीहरूलाई आत्मविश्वासका साथ परीक्षा दिन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button