
बारा, ०८ असार
परवानीपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभामा उपाध्यक्ष सुगान्ती देवी कनैयाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले सभामा पेश गरेका हुन्। गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले गरेका थिए।
गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा “सुन्दर, समुन्नत र समृद्ध परवानीपुर” निर्माणलाई मुख्य लक्ष्य बनाएको जनाएको छ। दिगो विकास, गुणस्तरीय पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन तथा योजनाबद्ध शहरी विकासलाई प्राथमिकतामा राखिएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा विश्व आर्थिक अवस्थाले नेपालमा समेत प्रभाव पारेको उल्लेख गर्दै संघीय सरकारबाट प्राप्त हुने वित्तीय हस्तान्तरणमा समेत असर परेको जनाइएको छ। युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेको छ।
गाउँपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विद्युतीय सुशासन प्रणाली विस्तार गर्ने, प्रशासनिक क्षमता अभिवृद्धि गर्ने तथा पूँजीगत खर्च वृद्धि गर्ने नीति लिएको जनाएको छ। सार्वजनिक, निजी तथा सामुदायिक साझेदारीमार्फत स्थानीय आर्थिक विकासलाई तीव्रता दिने लक्ष्यसमेत राखिएको छ।
नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने, स्वच्छ र सुरक्षित बस्ती निर्माण गर्ने तथा गाउँपालिकालाई उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सारिएको छ। नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहितालाई जोड दिँदै सुशासनलाई थप मजबुत बनाइने उल्लेख गरिएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न सडक तथा अधुरा नाला निर्माण कार्य सम्पन्न गरेको जानकारी पनि दिएको छ।
आर्थिक स्रोततर्फ संघीय सरकार राजस्व बाँडफाँड, समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदान, प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत तथा स्थानीय राजस्व बाँडफाँडमार्फत बजेट व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।



