
कलैया-०७, मंसिर
स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्ने सरकारको नीतिअनुसार बारा जिल्लाका १६ वटै पालिकामा मालपोत तथा नापी कार्यालयको एकीकृत सेवा सञ्चालन हुने भएको छ। यसका लागि कलैया उपमहानगरपालिकामा आगामी सातादेखि ‘भूमि प्रशासन शाखा’ सञ्चालनमा आउने भएको छ।
कलैया उपमहानगरपालिकामा स्थापना हुने उक्त शाखा हाल सञ्चालनमा रहेको मालपोत कार्यालयको भुइँतल्लाबाट सञ्चालन गरिने भएको छ। जिल्लाका अन्य १५ पालिकाले भने आ–आफ्नै पालिकाको केन्द्रमा भूमि प्रशासन शाखा स्थापना गरी सेवा सञ्चालन गर्ने तयारी गरेका छन्।
कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले उपमहानगरपालिकाको भूमि प्रशासन शाखा मालपोत कार्यालयकै भवनमा सञ्चालन गर्नुपर्ने अडान लिएपछि यस विषयमा मौखिक सहमति जुटेको हो।
सोमबार मालपोत कार्यालयमा आयोजित छलफल कार्यक्रममा नगर प्रमुख साहले कलैया उपमहानगरपालिका जिल्ला सदरमुकामसमेत रहेकाले यहाँ स्थापना हुने भूमि प्रशासन शाखा हालकै मालपोत कार्यालयमा सञ्चालन गर्दा भवनको प्रभावकारी उपयोग हुनुका साथै सेवाग्राही नागरिकलाई समेत सहज हुने बताएका थिए। उनले उपलब्ध पूर्वाधारको सदुपयोग गर्दै नागरिकलाई सहज र छरितो सेवा प्रदान गर्ने उद्देश्यले शाखा मालपोत कार्यालयमै राख्न आग्रह गरेका थिए।
नगर प्रमुख साहको प्रस्तावलाई स्वीकार गर्दै मालपोत कार्यालयका प्रमुख भूमि प्रशासन अधिकृत शालिकराम ढकालले समेत सहमति जनाएका थिए। त्यससँगै कलैयामा भूमि प्रशासन शाखा मालपोत कार्यालयकै भवनबाट सञ्चालन गर्ने विषयमा सहमति बनेको हो।
छलफलमा वडा नं. २६ का अध्यक्ष धर्मेन्द्र यादव, कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेल, राजिव यादव, मालपोत कार्यालयका अन्य कर्मचारी, लेखापढी व्यवसायीका प्रतिनिधि, नगारिक अगुवा तथा सञ्चारकर्मी संजय तिवारी, साजिर मंसुर लगायतकाको उपस्थिति रहेको थियो।
स्थानीय तहमै मालपोत तथा नापीसम्बन्धी एकीकृत सेवा सञ्चालनमा आएपछि जग्गा प्रशासनसँग सम्बन्धित कामका लागि सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।


