
सत्येन्द्र प्रताप सिंह
रौतहट, ०७ मंसिर
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका–६ कर्कचस्थित भित्री सडकखण्डमा म्याजिक भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाइते भएका छन्। साँझको समयमा भएको उक्त दुर्घटनापछि घाइतेहरूको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५ बजे मौलापुरबाट कटहरियातर्फ जाँदै गरेको ना.४ च ७८०४ नम्बरको म्याजिक र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ३० के ८६ ३० को मोटरसाइकल कर्कचस्थित भित्री सडकखण्डमा एकआपसमा जुधेका थिए। सडकको भित्री खण्डमा तीव्र गति वा विपरीत दिशाबाट आउने क्रममा सवारीसाधन आपसमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार दुई महिला गरी तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा मोटरसाइकल चालक रौतहटको परोहा नगरपालिका–३ तेजापाकड निवासी २९ वर्षीय सुरेन्द्र ठाकुर, मोटरसाइकलको पछाडि सवार २५ वर्षीया सरिता देवी र बाराको महागढीमाई नगरपालिका–१ दहियार भवानीपुर निवासी २४ वर्षीया उषा कुमारी रहेका छन्।
प्रहरीको प्रारम्भिक विवरणअनुसार सुरेन्द्र ठाकुरको अनुहार, टाउको र निधारमा गम्भीर चोट लागेको छ। त्यसैगरी सरिता देवीको खुट्टामा चोट लागेको छ भने उषा कुमारीको टाउको तथा निधारका साथै खुट्टामा समेत गम्भीर चोट पुगेको छ। दुर्घटनामा परेका तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनालगत्तै घाइतेहरूलाई तत्काल उद्धार गरी थप उपचारका लागि वीरगन्जस्थित नारायणी न्युरो एन्ड जनरल अस्पताल रिसर्च सेन्टर प्रा.लि. मा पठाइएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी नायब निरीक्षक उमेश कुमार मेहताको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाई दुर्घटनामा संलग्न म्याजिक र मोटरसाइकल दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ।
साथै प्रहरीले म्याजिक चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ निवासी २७ वर्षीय राजु चौधरी लाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाए ।


