मधेशसमाचार

ठेक्का प्रक्रिया अघि बढ्दा पनि कलैयाको सडक निर्माण अन्योलमा, एउटा पत्रको जवाफ दिन मेयरको उदासीनता 

बारा , ०७ मंसिर
 कलैयाको अधुरो सडक निर्माणले गति लिने अपेक्षा बढिरहेका बेला ठेक्का प्रक्रिया अघि बढाउन आवश्यक एउटा प्रशासनिक पत्रको जवाफसमेत समयमा पठाउन पहल नहुँदा स्थानीय तहको नेतृत्वप्रति प्रश्न उठेको छ। जनताको समस्या र विकास निर्माणका विषयमा प्रश्न गर्दा झर्किने, आक्रोशित हुने र सहयोगी भूमिका नदेखाउने जनप्रतिनिधिको व्यवहारले सार्वजनिक जिम्मेवारीमाथि नै प्रश्न उठाएको जेनजेड युथ अफ बाराका अध्यक्ष सौरभ पाण्डेले टिप्पणी गरेका छन्।
पाण्डेका अनुसार कलैयाको करिब ३.५ किलोमिटर सडक निर्माण कार्य अघि बढाउन हुलाकी राजमार्ग निर्देशनालयले पचरौता नगरपालिकासँग ठेकेदारले त्यहाँ पनि ठेक्का लिएको छ वा छैन तथा निर्धारित ठेक्का सीमासम्बन्धी अवस्था के छ भन्ने जानकारी माग गर्दै पत्र पठाएको छ। उक्त पत्रको जवाफ प्राप्त भएपछि मात्रै निर्देशनालयले आवश्यक निर्णय गरी निर्माण कार्य अघि बढाउने अवस्था रहेको उनको भनाइ छ। तर, पत्रको जवाफ पठाउन आवश्यक पहल गर्दा समेत नगरप्रमुखबाट सहयोगपूर्ण व्यवहार नदेखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले कार्यकाल सकिन लाग्दा पनि कतिपय नगरप्रमुखले जनतासँग बोल्ने शैली, व्यवहार र जिम्मेवारीबोधमा सुधार गर्न नसक्नु दुःखद भएको बताएका छन्। जनताले प्रश्न गर्नु लोकतान्त्रिक अधिकार भएको भन्दै प्रश्नको जवाफ आक्रोश, झर्को वा पदको अहंकारबाट नभई जिम्मेवारी र सम्मानका साथ दिनुपर्ने उनको भनाइ छ।
“कोही पनि मेयर जनताभन्दा माथि हुँदैनन्। जनताले प्रश्न गर्दा झर्किने र आक्रोशित भएर जवाफ दिने होइन, जनताको कुरा सुन्ने र सम्मानपूर्वक जवाफ दिने संस्कार हुनुपर्छ। एउटा पत्रको जवाफका कारण कलैयाको विकास किन रोक्ने?” पाण्डेले प्रश्न गरेका छन्।
उनले जनप्रतिनिधिहरूलाई पदको घमण्डभन्दा काम गर्ने इच्छाशक्ति देखाउन आग्रह गर्दै जनता मालिक र जनप्रतिनिधि सेवक भएको आधारभूत मान्यता व्यवहारमा उतार्नुपर्ने बताएका छन्।
यसैबीच, लामो समयदेखि अधुरो रहेको मनमत–कलैया–मटिअर्वा सडकको बाँकी खण्ड स्तरोन्नतिका लागि ४० करोड ८८ लाख २९ हजार १५५ रुपैयाँको ठेक्का प्रस्ताव गरिएको छ। सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढेसँगै स्थानीयवासीले अब सडक निर्माणले गति लिने अपेक्षा गरेका छन्। तर, प्रशासनिक प्रक्रियामा देखिएको ढिलाइ र समन्वयको अभावले विकास आयोजना फेरि अन्योलमा पर्ने आशंका पनि बढेको छ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको हुलाकी राजमार्ग निर्देशनालय, विशालनगर, काठमाडौंले मनमत–कलैया–मटिअर्वा सडकको बाँकी खण्ड स्तरोन्नतिका लागि ठेक्का दिने आशयको सूचना २०८३ असोज ३० गते प्रकाशित गरेको थियो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) तथा दफा ४७ बमोजिम प्रकाशित सूचनाअनुसार उक्त सडक स्तरोन्नति कार्यका लागि कलैया, बारास्थित एम/एस सुलभ–त्रिपुरा–विनोद साह जेभीलाई ४० करोड ८८ लाख २९ हजार १५५ रुपैयाँको ठेक्का दिने आशय व्यक्त गरिएको छ। ठेक्काको सम्झौता नम्बर एचआरपी–३७०११२८४/२०८२–८३/यूआर–०८ रहेको छ।
योजनाअन्तर्गत कलैया बजारको चेनज १६+२०० देखि १९+३५० सम्म, शीतलपुरको चेनज २०+८०० देखि २१+४०० सम्म तथा मटिअर्वाको चेनज २५+०५३ देखि २५+२५३ सम्मका बाँकी सडक खण्ड स्तरोन्नति गरिने योजना छ।
मनमत–मटिअर्वा सडकको कलैया बजार क्षेत्रमा पर्ने बाँकी सडक लामो समयदेखि अधुरो रहँदा स्थानीयले धूलो, हिलो, दुर्घटनाको जोखिम, व्यापारिक गतिविधिमा अवरोध र दैनिक आवागमनमा कठिनाइ भोग्दै आएका छन्। यसअघि पनि सडक निर्माणका विभिन्न चरणमा ठेक्का, म्याद थप र निर्माणको सुस्त प्रगतिका कारण सडक अलपत्र पर्दै आएको विषय सार्वजनिक रूपमा उठ्दै आएको छ।
अब ४० करोडभन्दा बढीको ठेक्का प्रक्रिया अघि बढेको अवस्थामा सम्बन्धित निकायबीच समन्वय गरी निर्माण कार्य समयमै सुरु गर्नु आवश्यक देखिएको छ। विकास आयोजनाको काम कागजी प्रक्रिया, पत्राचार र पदाधिकारीको व्यक्तिगत व्यवहारका कारण अवरुद्ध हुनु नागरिकका लागि स्वीकार्य विषय होइन।
जनताको करबाट सञ्चालन हुने स्थानीय सरकार र राज्यका अन्य निकायले विकास निर्माणमा सहजीकरण गर्नु, आवश्यक सूचना समयमै उपलब्ध गराउनु र जनताका प्रश्नलाई सम्मानपूर्वक सम्बोधन गर्नु जिम्मेवारी हो। कलैयाको सडक निर्माणका लागि आवश्यक पत्राचार र समन्वयमा अवरोध देखिएको हो भने त्यसको समाधान तत्काल खोजिनुपर्ने आवाज उठेको छ।
जनताले जनप्रतिनिधिबाट खोजेको कुरा पदको रवाफ होइन, विकासप्रतिको प्रतिबद्धता, पारदर्शिता र जवाफदेहिता हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button