
कलैया, १२ जेठ
राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा हालसम्म करिब ८१ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय, बाराका जिल्ला आर्थिक गणना अधिकारी श्री राजेश दासका अनुसार जिल्लाभर खटिएका गणक तथा सुपरिवेक्षकहरूको सक्रियताका कारण अपेक्षाभन्दा छिटो प्रगति हासिल भएको हो।
नेपाल सरकारको राष्ट्रिय तथ्याङ्क कार्यालयले “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन गरिरहेको दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत देशभर २०८३ वैशाख २ गतेदेखि असार ७ गतेसम्म स्थलगत तथ्याङ्क संकलन कार्य जारी रहेको छ।
यसै सन्दर्भमा जिल्ला आर्थिक गणना अधिकारी राजेश दाससँग गरिएको विशेष कुराकानीका आधारमा आर्थिक गणनाको वर्तमान अवस्था, चुनौती, उद्देश्य तथा बाराको आर्थिक महत्वबारे विस्तृत जानकारी सार्वजनिक गरिएको हो।
आर्थिक गणना किन आवश्यक ?
जिल्ला आर्थिक गणना अधिकारी दासका अनुसार आर्थिक गणना देशको आर्थिक अवस्थालाई वैज्ञानिक र यथार्थपरक ढंगले बुझ्ने महत्वपूर्ण आधार हो।
उनका अनुसार उद्योग, व्यापार, सेवा तथा विभिन्न आर्थिक गतिविधिसम्बन्धी आधारभूत तथ्याङ्क संकलन गरी सरकारलाई उद्योग तथा व्यवसायमैत्री नीति निर्माण गर्न सहयोग पुर्याउनु यसको मुख्य उद्देश्य हो।
त्यसैगरी राष्ट्रिय तथा स्थानीय स्तरमा आर्थिक सम्भाव्यता पहिचान, रोजगारीको अवस्था विश्लेषण, लगानी प्रवर्द्धन तथा देशको कुल गार्हस्थ उत्पादनमा विभिन्न क्षेत्रको योगदान मापन गर्न आर्थिक गणना उपयोगी हुने उनले बताए।
व्यवसायीको विवरण पूर्ण गोप्य रहने
आर्थिक गणनाका क्रममा संकलन गरिने विवरण सुरक्षित तथा गोप्य रहने अधिकारी दासले स्पष्ट पारे।
उनका अनुसार तथ्याङ्क ऐन–२०७९ अनुसार व्यवसायी तथा प्रतिष्ठानबाट प्राप्त विवरण केवल तथ्याङ्कीय प्रयोजनका लागि सामूहिक रूपमा प्रयोग गरिनेछ। व्यक्तिगत विवरण सार्वजनिक नगरिने भएकाले ढुक्क भएर सही तथ्याङ्क उपलब्ध गराउन उनले आग्रह गरे।
बारामा तीव्र गतिमा तथ्याङ्क संकलन
हालसम्म बारामा करिब ८१ प्रतिशत स्थलगत विवरण संकलन सम्पन्न भइसकेको कार्यालयले जनाएको छ।
कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका तथा महागढीमाई नगरपालिका लगायत क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताइएको छ।
व्यस्त औद्योगिक तथा व्यापारिक क्षेत्रमा भने अझै तथ्याङ्क संकलन जारी रहेको अधिकारी दासले जानकारी दिए।
कुन–कुन क्षेत्र समेटिए ?
आर्थिक गणनामा जिल्लाभित्र सञ्चालनमा रहेका औपचारिक तथा अनौपचारिक आर्थिक गतिविधिहरू समेटिएका छन्।
यसअन्तर्गत कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत तथा ग्यास सेवा, पानी आपूर्ति, फोहोर व्यवस्थापन, निर्माण, थोक तथा खुद्रा व्यापार, यातायात, होटल तथा भोजन सेवा, सूचना प्रविधि, वित्तीय तथा बीमा सेवा, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, मनोरञ्जन तथा अन्य सेवा क्षेत्रका प्रतिष्ठानहरूको विवरण संकलन भइरहेको छ।
गणकलाई चुनौती पनि उत्तिकै
गणना कार्यका क्रममा गणक तथा सुपरिवेक्षकहरूले विभिन्न चुनौती सामना गरिरहेको बताएका छन्।
कतिपय व्यवसायी कार्यालय वा पसलमा अनुपस्थित हुनु, केहीले तथ्याङ्क दिन हिच्किचाउनु, फोन सम्पर्क नहुनु तथा व्यस्त बजार क्षेत्रमा समय व्यवस्थापन कठिन हुनु मुख्य चुनौतीका रूपमा देखिएको छ।
यद्यपि अधिकांश व्यवसायी तथा स्थानीय नागरिकले सकारात्मक सहयोग गरिरहेको कार्यालयको भनाइ छ।
व्यवसायी उत्साहित
आर्थिक गणनालाई अधिकांश व्यवसायीले सकारात्मक रूपमा लिएको अधिकारी दासले बताए।
कलैया उपमहानगरपालिकाका एक व्यवसायीले “पहिलो पटक यति व्यवस्थित ढंगले व्यवसायको विवरण संकलन भइरहेको अनुभव भयो। सरकारले सही तथ्याङ्कका आधारमा योजना बनाओस् भन्ने अपेक्षा छ,” भन्दै प्रतिक्रिया दिएका छन्।
त्यस्तै जितपुरसिमरा उपमहानगरपालिकाका एक उद्योगीले “औद्योगिक क्षेत्रको वास्तविक अवस्था सरकारसमक्ष पुग्नुपर्छ। यसले भविष्यमा लगानी र रोजगारी बढाउन मद्दत पुर्याउन सक्छ,” बताएका छन्।
सुपरिवेक्षकको महत्वपूर्ण भूमिका
सुपरिवेक्षकहरूले गणकहरूको कामको नियमित अनुगमन, तथ्याङ्कको गुणस्तर परीक्षण तथा दैनिक प्रगति मूल्यांकन गरिरहेका छन्।
कतिपय अवस्थामा उनीहरू गणकसँगै स्थलगत निरीक्षणमा सहभागी भई विवरण प्रमाणीकरणसमेत गरिरहेका छन्। जिल्ला स्तरमा डाटा अपलोड, प्राविधिक सहजीकरण तथा दैनिक समीक्षा कार्य नियमित भइरहेको जनाइएको छ।
डाटा अपलोडमा प्राविधिक समस्या
केही क्षेत्रमा इन्टरनेट तथा नेटवर्क समस्याका कारण डाटा अपलोडमा ढिलाइ भएको कार्यालयले जनाएको छ।
विशेषगरी कमजोर नेटवर्क भएका क्षेत्रमा गणकहरूले संकलित विवरण अपलोड गर्न समय लागेको भए पनि सुपरिवेक्षकहरूसँगको समन्वयमा समस्या समाधान गर्दै कार्यलाई तीव्र बनाइएको अधिकारी दासले बताए।
राष्ट्रिय तथ्याङ्क कार्यालयको समन्वय
राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंले देशभर स्थापना भएका ८४ वटा जिल्ला आर्थिक गणना कार्यालयमार्फत गणना कार्यलाई प्रभावकारी रूपमा समन्वय गरिरहेको छ।
कार्यालयले गणक तथा सुपरिवेक्षकलाई आवश्यक प्राविधिक सहयोग, निर्देशन तथा सहजीकरण प्रदान गर्नुका साथै जिल्लागत प्रगतिको नियमित अनुगमनसमेत गरिरहेको छ।
बाराको आर्थिक महत्व विशेष
बारा जिल्ला नेपालको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्रमध्ये एक मानिन्छ।
पथलैया औद्योगिक क्षेत्र, सिमरा करिडोर, सीमावर्ती व्यापारिक गतिविधि तथा सक्रिय व्यापारिक बजारका कारण जिल्लाको आर्थिक गतिविधि अत्यन्त महत्वपूर्ण रहेको अधिकारी दासले बताए।
ठूला उद्योगदेखि साना घरेलु व्यवसायसम्मको उल्लेखनीय उपस्थिति रहेकाले बाराबाट प्राप्त हुने तथ्याङ्क राष्ट्रिय अर्थतन्त्रका लागि समेत उपयोगी हुने विश्वास गरिएको छ।
स्थानीय तह र सरोकारवालाको सहयोग
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ तथा जिल्लाका १६ वटै स्थानीय तहले गणना कार्यमा आवश्यक सहयोग गरिरहेको जनाइएको छ।
सबै स्थानीय तह तथा निकायहरूले सामाजिक सञ्जालमार्फत “राष्ट्रिय आर्थिक गणना–२०८२ मा सहभागी बनौं” भन्दै नागरिकलाई सही विवरण उपलब्ध गराउन अनुरोधसमेत गरेका छन्।
नागरिकलाई सहयोगको आग्रह
अधिकारी दासले राष्ट्रिय आर्थिक गणना कुनै व्यक्ति विशेषको नभई सम्पूर्ण देशको आर्थिक भविष्यसँग जोडिएको अभियान भएको बताए।
उनले सही तथ्याङ्ककै आधारमा सरकारको योजना, लगानी, उद्योग, रोजगारी तथा पूर्वाधार विकास सम्भव हुने भएकाले गणकहरू घरदैलो वा व्यवसाय स्थलमा पुगेका बेला यथार्थ विवरण उपलब्ध गराउन सबै नागरिकसँग आग्रह गरे।
असार ७ भित्र सम्पूर्ण काम सकिने अपेक्षा
कार्यालयका अनुसार बाँकी १९ प्रतिशत विवरण संकलन कार्य पनि तीव्र गतिमा अगाडि बढिरहेको छ।
सबै अवस्था अनुकूल रहेमा तोकिएको समयसीमाभित्र अर्थात् २०८३ असार ७ गतेसम्म सम्पूर्ण स्थलगत तथ्याङ्क संकलन सम्पन्न हुने अपेक्षा गरिएको छ।



